पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई शनिवार जन्मथलो गोरखा पुर्याएर पुन: काठमाडौं ल्याइएको छ।
जन्मघरको पिँढीमा पुगेपछि डाक्टर देवकोटा निकै खुसी र हर्षित भएका थिए। उनीसँगै काठमाडौंबाट गएका नेपाल मेडिसिटी अस्पतालका डाक्टर सञ्जय कार्कीले भने, ‘जन्मस्थान पुगेपछि उहाँको अनुहार एकाएक उज्यालियो । काठमाडौंमा रहँदा र जन्मस्थानमा पुग्दाको अनुहारको भावभंगीमा निकै फरक देखिन्थ्यो।’
उनका अनुसार जन्मस्थान पुगेपछि डा देवकोटा आफ्नो वरिपरि रहेकालार्इ हेरेर डा देवकोटाले भने, ‘आइफिल भेरी ह्याप्पी र आइफिल एमेज्ड।’
क्यान्सरसँग कठीन संघर्ष गरिरहेका डा देवकोटामा जन्मघरप्रतिको अगाध प्रेम उनका आँखामा छचल्किएको थियो। आफ्नो स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको महशुस गरेपछि डा देवकोटाले जन्मघरको पिँढीमा सुस्ताउने र सिस्नेघारी धाराको पानी पिउने इच्छा जाहेर गरेका थिए।
‘उहाँकै इच्छा अनुसार जन्मघर लगिएको थियो,’ डा कार्कीले काठमाडौं फर्केपछि स्वास्थ्यखबरसँग भने, ‘हामी त्यहाँ करिब एक घण्टा जति बस्यौँ। उक्त अवधिभर उहाँले मुस्कुराउने प्रयास गरिरहनुभएको थियो।’
बाल्यकालका यादलार्इ जीवनको अन्तिम प्रहरमा पुनर्ताजगी गर्ने उनको चाहना परिवारले पूरा गरेको थियो। बिरामी उनलार्इ त्यहाँ पुर्याएर सकुशल काठमाडौं फर्काउने सहयात्रीका रुपमा मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालिम प्राप्त डा कार्की, मेडिसिटीका प्यारामेडिक्स रमेश न्यौपाने र न्युरो अस्पतालका डाक्टर थिए।
जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महशुस आफूले गरेको डा कार्कीले बताए।
जन्मघर आँपपिपल पण्डितगाउँमा पुगेपछि डा देवकोटाले घर नजिकैको सिस्नेधाराको पानी पिएका थिए। उनकी छोरी वसुधाले गिलासमा ल्याइएको पानी उनलाई चम्चाले पिलाइएको थियो।
जन्मघरमा करिब एक घण्टा बसेपछि डा देवकोटालाई पुन: काठमाडौंस्थित न्युरो अस्पतालमा नै ल्याइएको छ। अहिले उनलाई अस्पतालको आइसियुमा राखेर उपचारमा निरन्तरता दिइएको छ।
यो पनि हेर्नुहाेस्