काभ्रेको पनौती नगरपालिकामा मानसिक रोग सम्बन्धि सचेतना कार्यक्रम तथा निशुल्क मानसिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
ललितपुर एकान्तकुनास्थित रिदम न्युरोसाइक्यासट्रक हस्पिटल एन्ड रिसर्च सेन्टर र विश्राम समाजको संयुक्त आयोजनामा शिविर र सचेतना कार्यक्रम गरिएको हो। निशुल्क शिविरमा ७० जनाले उपचार सेवा पाएको र सचेतना अभियानमा एक सय भन्दा बढीको उपस्थिती रहेको रिदम अस्पतालका निर्देशक डा रितेश थापाले जानकारी दिए।
उनका अनुसार मानसिक रोगको बारे जनचेतनाको कामीले गर्दा अझै पनि बिरामीहरु खुलेर डाक्टरको मा आउँदैनन्। उपचारमा नआएका बिरामीमा रोग बढ्दै जाने भएकाले समाजमा नै पुगेर समस्याको पहिचान गर्न शिविर र सचेतना कार्यक्रम गरिएको उनले जानकारी दिए।
डा थापाका अनुसार शनिबारको शिविरमा आउनेमा विभिन्न खालका मानसिक समस्या देखिएको थियो। जसमध्ये धेरैमा हातखुट्टा झमझम गर्ने, पोल्ने, निद्रा नलाग्ने, आत्तिने रोग र डिप्रेसन जस्ता समस्या भेटिएको थियो। शिविरमा जाँच गराउनेमध्ये अधिकांस बृद्धबृद्धा थिए।
कार्यक्रमपछि विश्राम समाजका अध्यक्ष डा राजेन्द्र ताम्राकारले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताए। रिदम अस्पतालले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।