पित्तनलीको क्यान्सरका कारण मृत्युसंग संघर्ष गरिरहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला पनि फेल भएपछि स्वास्थ्य अवस्था जटिल बनेको छ।
बाँसबारीस्थित न्युरो अस्पतालका अनुसार डा देवकोटाको स्वास्थ्य अवस्था केहीदिनदेिख जटिल भएपनि स्थिर छ। क्यान्सरका कारण शरीरका अन्य अंगमा असर गर्न थालेकाले उनलार्इ सपोर्टिभ उपचार गरिरहेको अस्पतालले जनाएको छ।
‘क्यान्सरले गाँज्दै लगेको छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘त्यसमाथि मिर्गौलाले काम गर्न छाडेको छ भने अरु अंगमा पनि असर गरिरहेको छ। सम्भव भएसम्म सपोर्टिभ उपचार गरिरहेका छौं।’
डा देवकोटाका भतिजा तथा न्युरो अस्पतालका प्रशासन प्रमुख बसन्त देवकोटाका अनुसार डा देवकोटाको अवस्था ‘क्रिटिकल’ तर ‘स्टेबल’ छ। उनले भने, 'गोरखा जानुअघि जस्तो अवस्थामा हुनुहुन्थ्यो अहिले पनि उस्तै हुनुहुन्छ।'
लामो यात्रापछि स्वास्थ्य अवस्थामा थप जटिलता थपिने डर उपचारमा संलग्न चिकित्सकहरुलार्इ थियो तर त्यस्तो अवस्था नअाएको बताइएको छ।
डा देवकोटाका विषयमा शुक्रबार राति गलत सूचना बाहिरीएपछि अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै डा देवकोटाको अवस्था गम्भिर रहेको र सघन उपचार चलिरहेको अाधिकारिक सूचना जारी गरेको थियो।
पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको हो। मिर्गौला फेल भएपछि डा देवकोटालार्इ डायलाइसिस गर्न सुरु गरिएको छ। न्युरो अस्पतालका एक चिकित्कसले दिएको जानकारी अनुसार हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको छ।
डा देवकोटालार्इ न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मिर्गौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्।
मिर्गौला फेल भएपछि डाक्टर देवकोटा थप गम्भिर भएका हुन्। यही कारण उनलार्इ भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको थियो। डायलाइसिस र निरन्तरको उपचारका कारण शनिबार उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो। स्वास्थ्य अवस्थामा सुधार आएपछि डा देवकोटालार्इ शनिबार जन्मघर लगिएको थियो।
डा देवकोटालार्इ केही दिन अघि नै जन्मघर गोरखा लैजाने तयारी भएको थियो। तर, एक्कासी क्यान्सरले थलाएको शरिरमा मिर्गौला फेलको समस्याले गाँजेपछि गोरखा जाने मिति सरेको हो।
डा देवकोटालार्इ बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) देखिएपछि उपचारका लागि लण्डन लगिएको थियो। बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत वैशाख १५ गते शनिबार नेपाल ल्याइएको थियो। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि डा देवकोटाकै इच्छा अनुसार बाँकी उपचार आफ्नै अस्पतालमा गराउन नेपाल ल्याइएको हो।
डा देवकोटालार्इ भएको बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) दुर्लभ खालको क्यान्सर मानिन्छ । अमेरिकामा हरेक वर्ष ८ हजार मानिस यो रोगबाट पीडित भइरहेका हुन्छन् । तर दक्षिणपूर्वी एशियामा भने यो रोगबाट बिरामी अलि बढी नै पाइन्छन्। यो रोग सानो उमेरमा लाग्न सक्ने भएपनि बढीचाहिँ वयस्कहरुमा देखिन्छ। यसको सर्भाइभल रेट अर्थात् बाँच्ने सम्भावना भने कुन स्थानमा लागेको छ र कुन चरणमा यो पत्ता लाग्यो भन्नेमा भर पर्छ ।
बाइल डक्ट पित्तबाहिनी नली हो । यो कलेजोको तल्लो भागमा जोडिएको हुन्छ । यो सानो नली हो, जो कलेजोदेखि सानो आन्द्रासम्म पुगेको हुन्छ । बाइल डक्टको मुख्य काम कलेजो र पित्तथैलीमा बनेका ‘बाइल’ नामको तरल पदार्थलाई सानो आन्द्रासम्म पुर्याउनु हो, जहाँ यसले खानामा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ।
पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुनु भनेको खतराको अवस्था हो। यसको प्रमुख उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रिया गर्न नमिल्ने अवस्थामा केमोथेरापीबाट उपचार हुन्छ।