डक्टर्स आर्टिकल

छातीका विभिन्न रोगको  निदानका लागि नेपालमा पहिलोपटक भित्रिएको ‘इ–बस’ के हो ?

 डा प्रज्ज्वल श्रेष्ठ

-

मुलुककै जेठो वीर अस्पतालले हालै छातीका विभिन्न रोगको  निदानका लागि अत्याधुनिक प्रविधिसहितको एन्डोब्रोन्कियल अल्ट्रासाउन्ड (इ–बस) मेसिन प्रयोगमा ल्याएको छ।

चिकित्सा इतिहासलाई नियाल्ने हो भने जर्मनीका चिकित्सक क्रस्निक र विल्मानले सन् २००३ मा पहिलो पटक इ–बस प्रयोगमा ल्याएका थिए। हाम्रै छिमेकी भारतमा भने यसको प्रयोग सन् २००९ देखि भएको थियो। ढिलै भए पनि नेपालमा यो प्रविधि भित्रिनुलाई चिकित्सा क्षेत्रको उपलब्धि मान्नु पर्छ। 

इ–बसलाई साधारण भाषामा ब्रोङ्कोस्कोपीको विकसित प्रविधिका रूपमा बुझ्नुपर्छ। यसमा ब्रोङ्कोस्कोपीको अघिल्तिरको टुप्पोमा अल्ट्रासाउन्डको ‘प्रोव’ जडान गरिएको हुन्छ र उक्त प्रोवको सहायताले छातीभित्रका विभिन्न ग्रन्थी सुन्निएको छ कि छैन भनेर प्रत्यक्ष रूपमा हेर्न र त्यसको ‘स्याम्पलिङ’ गर्न सकिन्छ।

विभिन्न रोग (जस्तैः फोक्सोको क्यान्सर, क्षयरोग तथा सार्कोइडोसिस अािद) हुँदा छातीभित्रका ग्रन्थी सुन्निने हुन्छ। यस्ता ग्रन्थीको स्याम्पलिङ गरी रोग पहिचान गर्न इ–बसकोे भूमिका रहन्छ। फोक्सोको क्यान्सरको सही पहिचान र चरण पत्ता लगाउन इ–बसको उपयोगिता ९५ देखि १०० प्रतिशतसम्म रहेको विभिन्न अनुसन्धानले देखाएका छन्। नयाँ प्रविधि र मेसिनको लागतका कारण बिरामीलाई इ–बसको मूल्य नेपालको सन्दर्भमा महँगो पर्न जान्छ। वीर अस्पतालले लगभग २ करोड रुपैयाँमा यो मेसिन ल्याएको हो।

भारतमा इ–बस जाँचको मूल्य लगभग ३० हजार भारतीय रुपैयाँसम्म पर्छ। 

तर, इ–बसका फाइदा धेरै छन्। एक त इ–बसको प्रयोगले छातीको रोगका लागि गरिने जटिल प्रक्रिया ‘मेडियास्टिनोस्कोपी’ गर्नुपर्ने वाध्यता हटेको छ भने अर्कोतिर इ–बस गर्दा बिरामीलाई बेहोस गर्नुपर्ने आवश्यकता रहँदैन। एक अनुसन्धानले संसारभर गरिएका झन्डै १२ हजारभन्दा बढी इ–बसमा प्रक्रियागत जटिलताको दर १ दशमलब ०१५ मात्र देखाएको छ। जुन निक्कै न्यून जटिलता दर हो। अनुसन्धानमा देखिएका जटिलता पनि साधारण प्रकारका मात्र छन्। तसर्थ इ–बसलाई बिरामीका लागि सुरक्षित प्रविधिका रुपमा लिन सकिन्छ। 

छाती रोगसम्बन्धी अन्तर्राष्ट्रिय चिकित्सा समाजका विभिन्न निकायले इ–बसलाई छातीभित्र सुन्निएका ग्रन्थीको जाँच र स्याम्पलिङका निमित्त ‘गोल्ड स्ट्यान्डर्ड टेस्ट’ का रुपमा स्वीकारेका छन्। नेपालमा यो प्रविधिको सुरुवातसँगै फोक्सोको क्यान्सर, क्षयरोग तथा सार्कोइडोसिसजस्ता रोगमा छातीभित्रका सुन्निएका ग्रन्थीको जाँचका लागि छिमेकी मुलुकमा रिफर गर्नुपर्ने वाध्यता हटेको छ। यसले कम समयमै रोग निदान भई समय र पैसाको बचत हुने कुरामा र्दुइ मत छैन। 

महँगो मूल्यसँगै इ–बस गर्न सक्ने सीप भएका दक्ष छातीरोग विशेषज्ञकोे कमीले नेपालमा यो प्रविधि भित्रिन ढिलाइ भएको थियो। अहिले भने वीर अस्पतालले चेस्ट युनिटमा इ–बसको प्रयोग एक महिनादेखि नियमित रूपमा गरिरहेको छ। अस्पतालको तथ्यांक अनुसार अहिलेसम्म १० बिरामीले यो प्रविधिको सेवा लिएका छन्।

वीर अस्पतालले जस्तै अन्य अस्पतालले पनि आफ्ना सेवा विस्तार गर्दै ‘चेस्ट मेडिसिन’मा प्रयोग हुने इ–बसजस्ता विभिन्न प्रविधि भित्र्याएर सामान्य उपचार गर्न पनि विदेश धाउनुपर्ने परिस्थिति अन्त्य गर्नुपर्ने देखिन्छ।

(चेस्ट फिजिसियन डा श्रेष्ठ वीर अस्पतालमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने