यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ ।
सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिए। स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी छ ।
सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । अस्थायी रुपमा काम गर्दै आएकी अनमी अविसरा शाही पढाइका लागि बिदामा बसेकाे दशेरा स्वास्थ्य चौकीका प्रमुख रामबहादुर थापाले जानकारी दिए।
जेठ २३ गतेदेखि अहिलेसम्म दशेरा अनमीविहीन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा दुईजना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमीविहीन भएको छ । पटकपटक अनमीको दरबन्दी थप गर्न मन्त्रालय, विभागमा माग गरेपनि सुनुवाइ नभएको प्रमुख थापाले बताए।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला अहिले सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताए। छेडागाड नगरपालिकाका प्रशासकीय प्रमुख सर्वदल शाहीले यो बारेमा बुझेर समस्या समाधान गर्ने बताए।
अहिले स्वास्थ्यकर्मीको सरुवा, काजमा पठाउने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । जाजरकोटका सातवटा तहमा यहाँका सबै स्वास्थ्य संस्था हस्तान्तरण भइसकेका छन् ।रासस