गजुरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्। तलब नपाएपछि सेवा प्रवाहमा समस्या परेको भन्दै डाक्टर तथा स्वास्थ्यकर्मीले आपत्ती जनाउन थालेपछि गाउँपालिकाले अन्य शिर्षकबाट भए पनि तलब खुवाउने तयारी गरेको छ।
गाँउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले केन्द्रबाट तलबका लागि बजेट नआएका कारण ढिला भएको बताए। उनले तत्काललाई समस्या समाधान गर्न गाँउपालिकाले अन्य शिर्षकबाट भए पनि कर्मचारीलाई तलब खुवाउने तयारी गरेको बताए।
‘माथिबाट आउँछ त भन्नु भएको छ, तर कहिले आउने हो निश्चित नभएका कारण हामीले यतैबाट मिलाउने तयारी गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाको अन्य शिर्षकको बजेटमा पछि शोधभर्ना गर्नेगरि स्वास्थ्यका कर्मचारीलाई तलब खुवाउन लागेका हौँ।’
उनका अनुसार गाउँपालिका अन्तर्गत ४ वटा स्वास्थ्य संस्था रहेको र त्यसअन्तर्गत ३० भन्दा बढी डाक्टर तथा स्वास्थ्यकर्मी कार्यरत छन्। उनले उनीहरुका लागि ४ महिनाका तलबभत्ता गरी करिब ६० लाख रुपैयाँ आवश्यक रहेको बताए।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा कार्यरत कर्मचारीको तलब व्यवस्थापनमा समस्या हुँदै आइरहेको छ। देशका अधिकांस स्थानीय तह अन्तर्गतका स्वास्थ्यकर्मीले तलबका लागि माग तथा धर्ना गर्नुपर्ने अवस्था आइरहेको छ।
स्वास्थ्य मन्त्रालयले स्थानीय निकायका स्वास्थ्यकर्मीका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले निकासा गरिसकेका कारण केही दिनमा सबैतिरको समस्या समाधान हुने जनाएको छ।