उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको अवस्था सुधारमा आफू लाग्ने बताएका छन्।
राजधनीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सरकारी अस्पतालका डाक्टर तथा प्राविधिकले नै उपकरण विग्रेको छ भन्दै निजी संस्थातिर पठाउने गरेको गुनासो आइरहेको बताए।
‘यो विषयमा म बुझिरहेको छु,’ उनले भने, ‘अस्पतालकै प्राविधिक जनशक्ति उपकरण विगार्ने र निजीबाट कमिसन लिने गरिरहेका छन्। अब हामी यसमा काम गर्छौ र दोषीलाई सजाय दिन्छौं।’
उनले सरकारी अस्पतालकै कर्मचारीले आफ्नो अस्पतालको उपकरण राम्रो छैन, नविग्रे पनि विग्रेको छ भन्ने, जानाजान उपकरण विगार्ने गरेको लगायतका गुनासा आफूसँग आएको बताए।
‘सरकारी अस्पतालमा उपकरण ल्याउने समयमा आधुनिक र उच्चप्रविधिको खरिद हुन्छ,’ उनले भने, ‘तर त्यसको प्रयोग भएको ४÷५ दिनमा विग्रेको हुन्छ। यो कुरामा हामी छानविन गर्छौँ।’
उनले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन जरुरत रहेको भन्दै आफूले अहिले स्वास्थ्य क्षेत्रका विकृती र विसंगतिका विषयमा मात्र सुनिरहेको जानकारी दिए।
‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि विकृति, विसंगति, मनपरी, लापरबाहीका विषयमा मात्र जानकारी लिइरहेको छु र सुनिरहेको छु,’ उनले भने, ‘सबै कुरा सुनेपछि म निश्चित योजना बनाएर सबै विकृती र विसंगतिको अन्त्य हुने गरी काम अगाडि बढाउँछु।’
उनले सरकारी स्वास्थ्य संस्थामा उपकरण थन्किने अवस्थाको अन्त्य गर्नतर्फ पनि आफू लागि पर्ने जानकारी दिए।