क्यान्सर उपचारका लागि प्रयोग हुने अत्याधुनिक उपचार प्रविधिका विषयमा नेपाली चिकित्सकलाई जानकारी दिइएको छ।
भारतस्थित अमृता इन्स्टिच्युट अफ मेडिकल साइन्सेसले काठमाडौंमा एक दिने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपालका अधिकांस क्यान्सर रोग विशेषज्ञ डाक्टरहरको सहभागिता रहेको थियो।
कार्यक्रममा क्यान्सर उपचारका क्षेत्रमा भएको विकास र भित्रिएका आधुनिक प्रविधिका विषयमा जानकारी दिइएको थियो। उक्त कार्यक्रममा सबैभन्दा बढी साइबरनाइफ नामक अत्याधुनिक रेडियोसर्जरीको विषयमा छलफल भएको थियो।
साइबरनाइफ अत्याधुनिक रेडियोसर्जरी हो, जो ट्युमरको उपचारलगायतका अन्य अवस्थाको उपचारका लागि प्रयोग हुन्छ। यसबाट नदुखाईकन उपचार गरिन्छ र ट्युमरलाई नष्ट गर्न निश्चित स्थानमा विकिरण दिन सकिन्छ।
अमृता इन्स्च्यिुटको रेडियसन अंकोलोजी विभागका प्रमुख डा देवनारायण दत्ताका अनुसार यो प्रविधिमा अत्यन्त केन्द्रित विकिरण प्रयोग गर्न रोबोटिक हात प्रयोग गरिन्छ। यसको लचकताले शरीरका विशेष भागहरु जस्तै स्पाइन, स्पाइनल कर्डको उपचार सम्भव बनाउँने उनले बताए।
क्यालिफोर्नियाको युसीएसएफ मेडिकल सेन्टरले सन् २००३ देखि यो विधिबाट उपचार सुरु भएको हो। यो विधिबाट उपचार गर्दा पीडा र अन्य प्रकारका लक्षणबाट तत्काल राहत मिल्ने डा दत्ताले जानकारी दिए।
कार्यक्रममा नेपालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले नेपालको क्यान्सरको अवस्था, क्यान्सरका बिरामीको बढ्दो दर र उपचारका क्रममा भइरहेको प्रयोगका विषयमा जानकारी दिएका थिए। उनले नेपालमा पछिल्लो समयमा टोमोथेरापी मेसिन वीर अस्पतालमा सुरु हुन लागेको पनि जानकारी दिए।