सरकारले चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालय तथा प्रतिष्ठानहरुले छुट्टाछुट्टै परीक्षा लिने र नतिजा प्रकाशन गर्दा समस्या आएको भन्दै एकिकृत परीक्षा लिने निर्णय भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ अनुसार चिकित्सा शिक्षाको शैक्षिक सत्र, परीक्षा र भर्ना प्रक्रियामा एकरुपता ल्याउन यस्तो निर्णय गरिएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा अोली तथा उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सल्लाह बमोजिम चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशन लगायतका कार्यहरु एकसाथ गर्ने गरी एउटै क्यालेण्डर लागु गर्न आयोगबाट अन्तिम टुंगो लगाउने गरी निर्णय भएको हो।
मन्त्री पोखरेलका अनुसार चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालन गर्ने निर्णयका लागि प्रव्रिmया अघि बढाइएको छ। यस कार्यका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्राडा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ।
जसमा प्रा डा सिर्जना श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका परीक्षा प्रमुख, काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, वि।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको छ भने चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसी प्रसाद आचार्यलाई सदस्य सचिव तोकिएको छ।