चिकित्सा शिक्षा अध्यापन गर्ने मेडिकल कलेज तथा प्रतिष्ठानहरुको विद्यार्थी भर्नाको सिट निर्धारण गर्ने जिम्मा चिकित्सा शिक्षा आयोगले गर्ने भएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ मा भएको व्यवस्था अनुसार सिट निर्धारणको जिम्मा आयोगले पाएको हो। यसका लागि सरकराले चिकित्सा शिक्षा आयोगका सदस्य प्राडा धर्मकान्त बाँस्कोटाको संयोजकत्वमा ५ सदस्यीय शिक्षण संस्थाहरुको सिट संख्या निर्धारण समिति गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए।
उनका अनुसार समितिको सदस्यमा काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन प्राडा राजेन्द्र कोजु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरू खनाल, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा राजेन्द्र गुरागाई रहेका छन्। चिकित्सा शिक्षा आयोगका सचिव लालजंग चौहानलाई यस कार्यदलको सदस्य सचिव तोकिएको छ।