काठमाडौं– स्वास्थ्य सेवा अन्तर्गतका केही कर्मचारीहरुले सरुवा गरि पठाइएको ठाउँमा जान अटेर गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा निर्देशन जारी गरेको छ । उपत्यका बाहिरका कार्यालयमा सरुवा भएपनि काजमा राजधानीभित्रै बस्न खोज्ने स्वास्थ्यका कर्मचारीलाई लक्ष्य गर्दै सम्बन्धित कार्यालयमा हाजिर हुन र गराउन निर्देशन दिइएको छ। उक्त निर्देशनलाई अटेर गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिइएको छ।
सरुवा वा बढुवा भइ विभिन्न कार्यालयमा पदस्थापना गरिएका केही कर्मचारीहरुले सम्बन्धित ठाउँमा नगइ राजधानीमै बसिरहेका छन्।
सरुवा भएपनि आफू यसअघि कार्यरत कार्यालयमै रहनका लागि हाकिमसँग मिलेमतो गरी सोही कार्यालयमा हाजिर हुने काज सिफारिस गराएका छन् । लामो समयदेखि सोही कार्यालयमा रहेर विभिन्न ‘सेटिङ’ मिलाइरहेकाहरुलाई केही समयअघि मन्त्रालयले सरुवा गरेको थियो।
उनीहरुलाई सरुवा भएको ठाउका लागि रमाना लेखि हाजिर हुन पठाउनुपर्नेमा काज सिफारिस गरिएको भन्दै मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बताए । उनले ७ दिन भित्र रमाना दिई हाजिर हुन पठाउने व्यवस्थाका लागि सवै निकायमा पत्राचार गरिसकेको बताए।
मन्त्रालयको निर्देशन अटेर गरी सरुवा भएको कर्मचारीलाई रमाना नदिई हालकै कार्यालयमा हाजिर गराइ तलबभत्ता खुवाएमा भुक्तानी दिने अधिकारीबाट असुलउपर गरिने निर्देशनमा स्पष्ट पारिएको छ । भनिएको छ, ‘काजमा राख्ने र तलबभत्ता भुक्तानी गर्ने कर्मचारीको नाममा बेरुजु कायम गर्न सम्बन्धित निकायमा लेखी पठाइने तथा भुक्तानी प्रक्रियामा संलग्न कर्मचारीलाई विभागीय कारबाही अघि बढाइनेछ।’
रमाना दिँदा सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्न पनि भनिएको छ । यदि विवरण उल्लेख गरेको नपाइएमा कानूनी कारबाही गरिने समेत स्पष्ट पारिएको छ।
उक्त निर्देशनको बोधार्थ प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रकको कार्यालय र संघीय मामिला तथा प्रशासन मन्त्रालय समेत दिइएको छ।