यहाँको एक स्थानीय तहले लामो समयदेखि काम गर्दै आएका महिला स्वयंसेविकालाई २० हजार रुपैयाँ सहित बिदा गरेको छ । पुराना स्वयंसेविका कम पढलेख र उमेरले निष्क्रिय अवस्थामा रहेकाले नयाँ बनाउने बाटो खोल्न गौमुल गाउँपालिकाले यस्तो प्याकेज अघि सारको हो।
स्थानीयको स्वास्थ्यका लागि पहिलो स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका भएकाले पढेलेखेका र सक्रिय जनशक्ति जरुरी रहेको गाउँपालिका अध्यक्ष हरि रोकायाले बताए। उनले भने, ‘लामो समयदेखि स्वयंसेविकाका रुपमा काम गरेका उहाँहरुको ठूलो योगदान छ तर अब हामीले स्वास्थ्यका विषयमा नयाँ ढंगले सोच्ने समय आएको छ । त्यसैले सक्रिय र पढेलेखेका स्वयंसेविका हुनुपर्छ।’
यसअघि साक्षरता मात्रै हासिल गरेका महिला पनि उक्त गाउँपालिकामा स्वयंसेविका थिए । तर, नयाँ बन्नेका लागि १० कक्षा पास अनिवार्य गरिएको छ।
लामो समय सेवा गरेवापत तत्काल २० हजार उपलब्ध गराइएको र भविष्यमा उनीहरुलाई आयआर्जनका लागि कुनै कार्यक्रम ल्याउने तयारी भएको अध्यक्ष रोकायाले बताए।
गौमुल यहाँका अन्य स्थानीय सरकारको तुलनामा सवैभन्दा सफल स्थानीय तहका रुपमा कहलिन थालेको छ।