कर्णाली सरकारले दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले छटपटिएका महिलाको ज्यान बचाउँदै आएको छ।
चिकित्सकले सुत्केरी गराउन नसक्ने जानकारी गराउनेबित्तिकै हेलिकोप्टर मार्फत सुविधासम्पन्न अस्पतालमा पुर्याेउने गरिएको छ। जटिल प्रकारको सुत्केरी अवस्थालाई ध्यान गर्दै जोखिम मोलेर भए पनि हेलिकोप्टरमा उद्धार गर्ने गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कर्णालीका केही जिल्लामा सुत्केरी गराउनकै लागि अस्पताल पुर्यााउन दुई/तीन दिन हिँड्नुपर्ने विकटता रहेकाले सरकारले जटिल अवस्थाका सुत्केरीलाई यस्तो सेवा दिने गरेको हो।
सामाजिक विकासमन्त्री दल रावलले भने, 'अहिलेसम्म १० जना सुत्केरी आमालाई कर्णाली सरकारले बचाइसकेको छ।'
डोल्पाबाट १, हुम्लाबाट ३, मुगुबाट २ जनासहित जुम्ला र अन्य जिल्ला गरेर १० जनाको ज्यान जोगाउन सफल भएको उनले बताए। उनले दुर्गम जिल्लाका बिरामीको अवस्थालाई ध्यान दिँदै हवाई एम्बुलेन्स चलाउनका लागि केन्द्र सरकार र दाताहरुसँग छलफल भइरहेको बताए।
सुत्केरीले पाउने यातायात खर्चदेखि सबै सेवा-सुविधा प्रभावकारी बनाउँदै लगिने मन्त्री रावल बताउँछन्।
'कर्णालीका महिलाले संविधानले ग्यारेन्टी गरेका प्रसूति सेवा पाउन सकेका छैनन, कतिपय स्थानीय सिटामोल पाउने अवस्थामा छैनन', उनले भने, 'प्रादेशिक रुपमा स्वास्थ्य संरचना गतिलो छैन, अब दक्ष जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्नेछौं।'
अहिले पनि दुर्गमका गर्भवती स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने अवस्था छैन। उनले भने, अहिले सुर्खेत क्षेत्रीय अस्पतालबाट नेपालगन्ज अञ्चल अस्पतालमा बिरामी रेफर गरेर उपचार गराउनुपरेको स्मरण गर्दै मन्त्री रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता संस्थाको रुपमा अगाडि बढाउने बताए।
कर्णाली प्रदेशका प्रत्येक जिल्लामा ५० शय्याको अस्पताल चलाउने र पारामेडिसियन स्तरका जनशक्ति जिल्लामै उत्पादन गर्ने कर्णाली सरकारको योजना छ।