डक्टर्स आर्टिकल

स्तनबाट दूध चुहिने समस्या

 डा दीना श्रेष्ठ

राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले २ वर्षअघि कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्तनबाट दूध चुहिएको थियो । सुरुमा अनौठो लागेपनि यसलाई उनले गम्भीर रुपमा लिइनन् । तर अविवाहित उनमा यो समस्या बारम्बार दोहोरिने गर्न थालेपछि उनी निकै तनावमा परिन् । र एक साथीको सुझावअनुसार चिकित्सककहाँ पुगिन् । खासमा उनमा यो समस्या प्रोल्याक्टिन हर्मोनका कारणले भएको रहेछ ।

के हो स्तनबाट दूध चुहिने समस्या?
स्तनपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्तनबाट दुध चुहिने समस्या भइरहेको हुन सक्छ । के कारणले दुध चुस्ने बच्चा नभएको समयमा पनि स्तनबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ।

हाम्रो मस्तिष्कमा पिट्युरी ग्रन्थी हुन्छ । यसबाट प्रोल्याक्टिन हार्मोन उत्पादन हुन्छ । यो हार्मोनको काम स्तनको विकास गर्ने र बच्चा जन्मिएपछि दूध बनाउने हो । यो हार्मोन आवश्यक मात्रामा उत्पादन भइरह्यो भने केही असर पर्दैन । तर यसको मात्रा बढ्यो भने स्तनपान नगराउने महिला, अविवाहित महिला तथा पुरुषमा पनि दूध चुहिने समस्या हुन सक्छन् । प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्ने अवस्थालाई ‘हाइपरप्रोल्याक्टिमेनिया’ भनिन्छ।

पिट्टुयरी ग्रन्थीमा कुनै कारणवश पलाउने ट्युमर, विभिन्न औषधिको असर वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढेको हुनसक्छ । खासगरि ग्याष्ट्रिक, साइकाट्रिससम्बन्धी औषधिको प्रयोग, धेरै कसिलो लुगा लगाउँदा या मस्तिष्कमा कुनै चोट लागेको भएपनि यो समस्या देखिन सक्छ।

यस्तो समस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ । दुध चुहिने समस्या महिला–पुरुष दुवैमा देखिन्छ । तर बढी महिलामा नै भएको पाइन्छ । समयमा उपचार गरेमा यसको समस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन।

प्रोल्याक्टिनोमालाई सामान्यतः २ प्रकारमा छुट्याउन सकिन्छ : 
माइक्रोएडेनोमा ट्युमर १० मिलिमिटरभन्दा सानो हुन्छ । त्योभन्दा ठूलो ट्युमर छ भने म्याक्रोएडेनोमा भनिन्छ । माइक्रोएडेनोमा प्रोल्याक्टिनोमको उपचारका लागि औषधि नै प्रयोग गरिन्छ । तर म्याक्रोएडेनोमा छ भने शल्यक्रिया पनि गरिन्छ ।

कस्तो देखिन्छ लक्षण ? 
प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् । यौनसम्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महिनावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्रमण हुनेजस्ता लक्षण देखिन सक्छन्।

यस्तै, बाँझोपन, हड्डी कमजोर हुने तथा योनीमा दुखाई हुनेजस्ता समस्या हुन सक्छन् । आँखामा पनि विभिन्न समस्या देखिन्छन् । किनकि अप्टिक नली पिट्युरी ग्रन्थीनजिकै हुन्छ । यो ग्रन्थीमा समस्या आउनेबित्तिकै अन्य सहायक नलीको विकासमा समेत रोकावट ल्याउन सक्छ । पुरुषहरुमा स्तन बढ्ने पनि हुनसक्छ ।
यो रोग उपचारबाट निको हुन्छ । तर औषधि भने लामो  समय लिनुपर्छ । कम्तिमा दुई वर्षदेखि सात–आठ वर्षसम्म पनि औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । स्तनपान गराउने महिले स्तनपान गराउन छाडेपछि पुन औषधि खानुपर्ने पनि हुनसक्छ । सामान्यता औषधि दिएरै प्रोल्याक्टिनको उपचार गरिन्छ । पिट्युरी ग्रन्थीमा ट्युमर पलाएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ। 

मुख्यकुरा बुझ्नुपर्ने के हो भने हाइपरप्रोल्याक्टिमेनिया मष्तिस्कबाट आउने भएकाले आफ्नो बे्रेनलाई हरेक समस्याबाट मुक्त राख्नुपर्छ । छातीको समस्याले पनि यस्तो समस्या हुनसक्छ । कहिलेकाँही क्यान्सरको सम्भावना हुने भएकाले यस्तो समस्या देखिए  तत्काल चिकित्सको परामर्श लिनुपर्छ । 
(नर्भिक अस्पतालमा कार्यरत डा श्रेष्ठ  इन्डोक्राइनोलोजिस्ट हुन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने