डक्टर्स आर्टिकल

किन चाहिन्छ शरीरलाई भिटामिन डी ?

 डा हृदयविभु घिमिरे

शरीरको वृद्धि, विकास र सञ्चालनका लागि चाहिने सूक्ष्म तत्वलाई भिटामिन भनिन्छ। भिटामिन धेरै प्रकारका हुन्छन्। तीमध्ये भिटामिन डी पनि एक हो। क्याल्सियम र हड्डीसँग बढी परस्पर सम्बन्ध मानिएको भिटामिन डी शरीरका विभिन्न अंगका लागि महत्वपूर्ण रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। 

भिटामिन डीलाई भिटामिनका रूपमा मात्र नहेरी शरीरलाई आवश्यक पर्ने हार्मोनका रूपमा मान्न थालिएको छ। सूर्यको पराबैजनी किरण छालामा परेपछि भिटामिन डीको सुरुवाती अवस्था पैदा हुन्छ, जुन कलेजो अनि त्यसपछि मृगौलामा गएर भिटामिन डीको रूपमा परिवर्तन हुन्छ। तर, आजकाल मानिस प्रायःजसो कोठाभित्रै रहने र घामसँग कम समयमात्रै स्पर्शमा रहने चलन बढ्दै गएको छ। चाहे कामको व्यस्तताले होस् वा छाला डढेर कालो हुने भयले, धेरैले घामबाट भिटामिन डी पाइरहेका हुँदैनन्। घाममा नै समय बिताउनेले पनि छाला ढाक्न खोज्छन्। 

सूर्यको प्रकाश बिहान १० देखि दिउँसो ३ बजे बीचमा ५ देखि १५ मिनेटसम्म पाखुरा, हात–खुट्टा र अनुहारमा हप्ताको दुईदेखि तीनपटक परेमा शरीरलाई आवश्यक पर्ने भिटामिन डी परिपूर्ति हुनसक्छ। यही नै शरीरलाई चाहिने भिटामिन डीको मुख्य स्रोत मानिन्छ। सामुद्रिक खानेकुरा (सी–फुड), अन्डाको पहेंलो भाग, च्याउ आदि खानामा पनि भिटामिन डी पाइन्छ। विकसित देशमा दूध, जुस, आटा तथा जौंका खानेकुरामा भिटामिन डी मिसाइएको हुन्छ। तर, हाम्रोजस्तो देशमा भिटामिन डीयुक्त खानेकुराभन्दा पनि सूर्यको प्रकाश नै प्रमुख प्राकृतिक स्रोत मानिन्छ।

रगतमा भिटामिन डी ३० न्यानोग्राम÷मिलिलिटरभन्दा बढी हुनुपर्छ। यदि, भिटामिनको मात्रा २०–३० न्यानोग्राम÷मिलिलिटर भए भिटामिन डी अपर्याप्त भएको मानिन्छ। यदि २० न्यानोग्राम÷मिलिलिटरभन्दा कम भए शरीरमा यसको कमी हुन्छ। वृद्ध उमेर, सूर्तिजन्य पदार्थको सेवन, कालो छाला, कलेजो तथा मिर्गौलाको रोग, आन्द्राको पाचनशक्तिमा हुने गडबडी, वायु प्रदुषण, जाडो महिनामा घर वा अफिसभित्र मात्रै काम गर्नुपर्ने बाध्यता आदिलाई शरीरमा भिटामिन डी कमी हुने कारक तत्व मानिन्छ।

भिटामिन डी कमीको अवस्था
विश्वमा करिब एक अर्ब जनसंख्यालाई भिटामिन डीको कमी रहेको आँकलन गरिएको छ। युरोप, अमेरिका, अस्ट्रेलियामा ३०–८० प्रतिशत जनसंख्यामा भिटामिन डीको कमी रहेको अनुसन्धानमा देखिएको छ। यो स्थिति दक्षिण एशियामा झनै भयावह छ। भारतमा ७० प्रतिशतभन्दा बढी जनसंख्यामा भिटामिन डीको कमी रहेको केही भारतीय अध्ययनमा पाइएको छ। नेपालमा पनि ७० प्रतिशतभन्दा बढी जन्संख्यामा भिटामिन डीको कमी रहेको अध्ययनले देखाएको छ।

भिटामिन डीले पार्ने प्रभाव
भिटामिन डीको प्रमुख काम आन्द्राबाट क्याल्सियमको शोषणलाई नियन्त्रण गर्नु र हड्डीमा क्याल्सियमको पुनर्शोषणमा मद्दत पुर्‍याउनु हो। भिटामिन डीको कमी हुँदा आन्द्राबाट क्याल्सियम शोसिने शक्तिमा कमी आउँछ र हड्डीबाट क्याल्सियम बाहिर निस्केर रगतमा क्याल्सियमको मात्रा नियन्त्रणमा हुन्छ।

भिटामिन डी कमीले शरीरको रक्तचाप बढ्ने अध्ययनहरुले देखाएका छन्। तर, केही खोजमा भने यी दुईबीच त्यस्तो सम्बन्ध नरहेको पनि बताइएको  छ। यस्तै, भिटामिन डीसँग मधुमेह र रगतमा बोसो असन्तुलनको सम्बन्ध पनि देखिएको छ। भिटामिन डी कमीले हृदयाघातको सम्भावना बढाउने पनि अध्ययनहरुले बताएका छन्। भिटामिन डी कमी भएमा मुटुले गर्ने काममा ह्रास आउने (हर्ट फेल हुने) सम्भावना पनि उल्लेख गरेका छन्। तर, हालसम्मका खोजमा मुटुमा हुने विभिन्न रोगमा भिटामिन डीको मात्रा कमी देखिए पनि भिटामिन डी परिपूर्ति गर्दैमा मुटु रोगमा परिवर्तन आउने कुरा चाहिँ पुष्टि भइसकेको छैन।

भिटामिन डीको हड्डी र मुटुसँग मात्रै सम्बन्ध नरहेर विभिन्न अंग र तिनका काम कारबाहीमा पनि महत्वपूर्ण देखिएको छ। भिटामिन डी कमी भएका महिला तथा पुरुषमा प्रजनन क्षमतामा कमी आएको र गर्भवती महिलालाई भिटामिन डी पूर्ति गर्दा सकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएका छन्। 

भिटामिन डी कमीको उपचार
विभिन्न समयमा गरिएका अध्ययनले हाल विश्वव्यापी रुपमै भिटामिन डीको अपर्याप्तता र कमी देखाएको छ। यसको कमीले विभिन्न अंगमा पर्ने प्रभावबारे पनि उजागर हुँदै आएको  छ। हाल भिटामिन डीको परीक्षण सजिलैसँग गर्न सकिन्छ र कमी देखिएमा यसको उपचार (परिपूर्ति) गर्न गाह्रो छैन। यदि, हामी पर्याप्त रुपमा घामबाट भिटामिन डी पाउँदैनौं भने औषधि सेवन गरी शरीरमा यसको मात्रा सामान्य अवस्थामा ल्याउन सकिन्छ। परिपूर्ति गरिसकेपछि भिटामिन डी सही भए–नभएको कुरा पुनः जाँच गर्दा थाहा हुन्छ। हाल विदेशमा जस्तो दूध, आटा, जुसमा भिटामिन डी मिसाइएको नभए पनि हामी अन्य माध्यमबाट भिटामिन डी परिपूर्ति गरी शरीर स्वस्थ राख्न सक्छौं।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने