डक्टर्स आर्टिकल

कसरी हुन्छ फोक्सोमा संक्रमण? कसरी बच्ने?

 डा रवी महत

फोक्सो के हो ?
फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। शरीरमा फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, ं  श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ। फोक्सोको अन्तिममा रहेको अंगुरको झुप्पाजस्तो भागमा पुगेपछि हावा रगतमा मिसिन्छ र मुटुमा जान्छ। अनि मुटुको देब्रे भागले पम्प गरेर शरीरभरि फैलाउँछ र कोष–कोषमा पुग्छ। 

कसरी हुन्छ फोक्सोमा संक्रमण ? 
खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ। भाइरस ,ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ। यसले सास फेर्ने नली सुन्निने हुन्छ। फोक्सो र करङको बीचमा पानी जम्ने (निमोनिया), क्षयरोग, पिप जम्ने जस्ता समस्या देखिन सक्छ। 

हामीले एकपटक सास तान्दा ५ सय मिलिलिटर हावा तान्छौं र त्यत्तिकै मात्रामा बाहिर फाल्छौं। यसको मतलब एक मिनेटमा हाम्रो फोक्सोबाट ४ देखि ६ लिटर हावा आवतजावत हुन्छ। हावामा किटाणुहरु हुन्छन्। अरु प्रदुषण हुन्छन्। हावासँगै किटाणु गए पनि सुरुमा नाकले फिल्टर गर्छ र सास नलीभित्र जान्छ। तर, शरीरको प्रणालीले धान्न नसक्ने गरी किटाणु, प्रदुषण हावा मार्फत भित्र गयो भने विस्तारै फोक्सोमा असर पुग्न सक्छ। संक्रमण  हुन सक्छ। मुख, घाँटी जताततै किटाणु हुन्छन्। कुनैबेला सर्केर फोक्सोमा गयो भने पनि संक्रमण हुन्छ। 

संक्रमण भइसकेपछि फोक्सो सुन्निने हुन्छ। त्यसलाई हामी बोलीचालीको भाषामा निमोनिया भन्छौं। 

विश्वको कुल जनसंख्याको एक तिहाइमा क्षयरोग हुन्छ। यो समस्या  एसियाली मुलुकमा अझ बढ्दो रुपमा देखापरेको छ। क्षयरोगबाट जोगिन खानेकुरामा ध्यान दिनुपर्छ। शारीरिक व्यायाम गर्नुपर्छ। सरुवा रोग भएकाले क्षयरोग लागेका बिरामीलाई अलग्गै राख्नुपर्छ। बिरामी र बिरामीलाई हेर्न जाने मान्छे दुवैले माक्स लगाउनुपर्छ। यो रोग लागेका मानिसले चुरोट, रक्सीबाट टाढै रहनुपर्छ। 

समयमै उपचार गरिएन भने निमोनिया तथा क्षयरोगले ज्यानै लिन सक्छ। 

लक्षण 
फोक्सोमा समस्या आउँदा खोकी लाग्ने, खकारमा रगत देखिने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ। 

उपचार 
हामी प्रायशः खोकी लाग्यो भने औषधि पसलमा गएर आफूखुसी खोकी निको पार्ने औषधि किन्छौं र सेवन गर्छौं। तर, कुनै बेला त्यो खोकी सामान्य नभएर छातीको संक्रमणका कारणले भएको हुन सक्छ। त्यसैले आफूखुसी औषधि किनेर खानुभन्दा एकपटक डाक्टरलाई देखाएर औषधि खाँदा राम्रो हुन्छ। औषधिले साइडइफेक्ट पनि हुन सक्छ र कुनै बेला ज्यानै पनि जान सक्छ। त्यसैले लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिनुपर्छ। समयमै उपचार भयो भने संक्रमणबाट बच्न सकिन्छ। 

धुँवाधुलोको असर
धुँवाधुलोले छातीको संक्रमण हुन्छ। धुलोले एलर्जी हुने, आँखा चिलाउने जस्ता तत्कालीक  र दीर्घकालिन असर दुवै गर्छ। लामो समयसम्म प्रदुषित वातावरणमा बसियो भने एलर्जी हुने, आँखा चिलाउने, घाटी खसखस हुने, खोकी लाग्ने, श्वास नली सुन्निने जस्ता तत्कालिक समस्या देखा पर्छ। दीर्घकालीन रुपमा भने दम, फोक्सोको क्यान्सर आदि हुन्छ। 

धुलोका कण सानो हुने भएकाले श्वासप्रश्वास प्रक्रियाबाट रगतमा पनि जान्छ र नशाहरु साँघुरो बनाउँछ। जसले उच्च रक्तचाप, हृदयाघात, मस्तिकाघात जस्ता जोखिम बढाउँछ। धुवाँधुलोले दीर्घकालीन रुपमा नराम्रो असर गर्ने भएकाले प्रदुषणबाट बच्नै पर्ने हुन्छ। 

कसरी बच्ने ?
धुलोले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने भएकाले रोग लाग्ने सम्भावना बढी हुन्छ। संक्रमणको कारण श्वासप्रश्वास भएकाले सकेसम्म किटाणु पस्न दिनु हुँदैन। त्यसका लागि बिरामी भएको मानिस नजिक जाँदा, भीडभाडमा जाँदा माक्स प्रयोग गर्नु उपयुक्त हुन्छ। चुरोट, रक्सीले पनि शरीरको प्रतिरक्षात्मक प्रणाली कमजोर बनाउँछ र श्वासनली सफा गर्ने प्रक्रियालाई निस्क्रिय पारिदिन्छ। स्वस्थ खानेकुरा खानुपर्छ र प्रदूषणबाट बच्ने उपाय अपनाउनुपर्छ।

(पल्मोनोलोजिस्ट डा महत ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने