जुम्ला- तिला गाउँपालिकामा कार्यरत स्वाथ्यकर्मीहरुले सेवा-सुविधा माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।
लामो समयदेखि सेवा-सुविधा नपाएको भन्दै उनीहरुले आइतबार ज्ञापनपत्र मार्फत ४८ घन्टे अल्टिमेटम दिएका हुन्। माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अगाडि बढाउने उनीहरुले चेतावनी दिएका छन्।
तिला गाउँपालिकामा २४ जना स्वास्थ्यकर्मी छन्। उनीहरुले विगत लामो समयदेखि स्थानीय र पोसाक भत्ता नपाएको तथा दुई महिनादेखि तलब पनि नपाएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले बताए। गाउँपालिकाले समयमै तलब उपलब्ध गराउन पहल नगरे स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा रोकिने उनले चेतावनी दिएका छन्।
देश संघीय प्रणालीमा गएसँगै शिक्षा, पशु, कृषि लगायत कार्यालयका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराए पनि स्वास्थ्यकर्मीलाई भने भोकभोकै मार्न खोजिएको उनीहरुले आरोप लगाएका छन्।
'धेरै दिन भोकै काम गर्ने अवस्थामा छैनौं, तत्काल तलवको व्यवस्था गर्न माग गरे पनि सरकारले सुनेको छैन', उनले भने।
तिला गाउँपालिकामा दुर्गम भत्ताका लागि २३ लाख बजेट आउनुपर्नेमा ४ लाख रुपैयाँ मात्र र पोशाक भत्ताका लागि ३ लाख ६० हजार रुपैयाँमध्ये डेढ लाख मात्र आएको उनीहरुले बताएका छन्। यस्तै, स्वास्थ्यकर्मीको तलबका लागि गाउँपालिकामा सवा करोड आउनुपर्नेमा ७० लाख ९६ हजार रुपैयाँ मात्रै आउँदा समस्या भएको स्वास्थ्य संयोजक नेपालीले बताए।
थप बजेट पठाउन एक महिनाअघि कोलेनिका मार्फत मन्त्रालयमा माग गरिएकोमा अहिलेसम्म सुनुवाइ हुनसकेको छैन।
जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल र क्षेत्रीय स्तरका स्वास्थ्यकर्मीलाई सबै सुविधा दिइसके पनि आफूहरु भने वञ्चित रहेको स्थानीय तहका स्वास्थ्यकर्मीले गुनासे गरेका छन्। सेवा-सुविधाबारे सरकार तत्काल जिम्मेवार नभए खोप सेवा, सुत्केरी सेवा, स्वास्थ्य संस्थामा हुने इमरजेन्सी सेवा बन्द गरेर आन्दोलनमा उत्रिने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्यकर्मीका माग जायज रहेको भन्दै आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।