नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टरार्इले बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालार्इ श्रद्धांजली दिएका छन्। अाज साँझ डा देवकोटाको निधन भएपछि भट्टरार्इले सामाजिक सञ्जाल फेसबुकमा डा देवकोटासँगको तस्बिर राखेर श्रद्धांजली दिएका हुन्।
भट्टरार्इ र डा देवकोटा सहपाठी हुन्। उनीहरुले अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै पढेका थिए। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।
यस्तो छ भट्टरार्इले सामाजिक सञ्जालमा दिएको श्रद्धांजली
तिमी आफै एक वेजोड चिकित्सक थियौ; त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्तत: तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र!
भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!
नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!!