मुख्य समाचार

डा उपेन्द्र देवकाेटालाई राजकिय सम्मान दिने सरकारको निर्णय

स्वास्थ्यखबर

सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले बताए।

'उहाँलार्इ राजकिय सम्मान दिने निर्णय भएको छ,' मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, 'नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो।'

डा उपेन्द्र देवकोटाको दाहसंस्कार अाज हुने भएको छ। न्युरो अस्पताल बाँसबारीका अनुसार विद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुनेछ।

श्रद्धाञ्जलीका लागि उनको शव बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पतालको प्रांगणमा राखिएको छ। 

अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राती नै बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे।  

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे।  

डा देवकोटाको काजकिरिया श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन्। काजकिरिया ७ दिनमा सकिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।

वि.सं २०१० साल पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा क्यान्सरसँग पराजित भएका हुन्।

डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो। 

उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो।

वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो। उनको अवस्था थप जटिल बन्दै गएपछि आयुर्वेदिक उपचार पनि गराइएको थियो। 

यस्तो थियो डाक्टर उपेन्द्र देवकोटाको जीवनयात्रा

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live