विचार/ब्लग

डा उपेन्द्र देवकोटाको अभाव खड्किरहनेछ : गौरीबहादुर कार्की

 

प्रा डा उपेन्द्र देवकोटा, प्राध्यापक र डाक्टर चिकित्सक दुवै हुन्। नामधारी प्राध्यापक होइनन्। कतिपय हाम्रा प्राध्यापक नामधारीहरु प्राध्यापन नगरीकन नै प्राध्यापक लेख्छन्। शिक्षण तथा चिकित्सकीय दुवै पेशामा।

नेपालमा वीर अस्पतालमा त्यतिबेलाका सुविख्यात सर्जन डा. दिनेशनाथ गङ्गोलको निर्देशन र सहयोगीको रुपमा सर्जनको काम डा. देवकोटाले थाल्नु भएको रहेछ। न्यूरो सर्जरीमा बेलायतबाट एम.डी. विशेषज्ञता हासिल गर्नु भएको मात्र होइन, परीक्षा नै उत्तीर्ण गर्नु भएको हो, कोर्सं कम्प्लिटेड मात्र होइन। बेलायतको मेडिकल काउन्सिलको सम्मानित सदस्य रजिष्ट्रार समेत हुनु भयो।  

बेलायतमा काम गर्ने अवसर छाडेर स्वदेश फर्कनु भएपछि वीर अस्पतालमा न्यूरो सर्जरी विभाग शुरु गर्नु भयो। 

न्यूरो सर्जरीमा उहाँको विशेषज्ञताले २८ हजार बढी बिरामीको टाउकोको अप्रेसन गर्नु भयो । १२ लाख बिरामीको खुट्टा छुने शौभाग्य आपूmले पाएको उहाँले बताउनु भएकोछ । कतिपय विद्वानधारीले मान्छे मारेर देशमा परिवर्तन ल्याउन तम्से भने उहाँले २८ हजारको ज्यान बचाउनु भयो। 

त्यतिबेला प्रतिगमन आउँदा राजा ज्ञानेन्द्रको शाही सत्तामा उहाँ स्वास्थ्य मन्त्री हुन भयो। ज्ञानेन्द्रको शाही सत्ता बचाउन लागेको भन्ने आरोप लागे तापनि उहाँले स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्नु भयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उहाँले नै शुरु गराएर एमडी निःशुल्क पढाउने कामको श्रीगणेश गराउनु भयो। 

ज्ञानेन्द्रको शासनमा मन्त्री नियुक्त हुने वित्तिकै उहाँले सरकारी सेवाबाट राजीनामा दिनु भएको थियो । पछि न्यूरो अस्पताल बाँसबारीमा खोलेर उहाँ यो क्षेत्रमा सेवा पुर्याउन दिनरात खटिदैं आउनु भएको हो। उहाँको अस्पतालमा रातमा समेत ३ जना न्यूरो सर्जन ड्युटीमा रहेका हुन्छन् । सरकारी र अन्य अस्पताल र मेडिकल कलेजमा झैं साँझ परेपछि चिकित्सक उपलब्ध नहुने रोग उहाँको अस्पतालमा छैन। न्यूरो अस्पतालले उल्लेखनीय रुपमा कर तिरेकोमा धेरै वर्ष देखि सम्मान पाउँदै आएको छ ।  

स्वास्थ्य बिमा उहाँकै परिकल्पना मन्त्री गगन थापाको पालामा मूर्तरुप लिन सकेको हो । बेलायत बसेर कल्याणकारी समाज देखेका डा.देवकोटाकै वृद्ध भत्ता दिनु पर्दछ भन्ने परिकल्पना तत्कालीन प्रधान मन्त्री मनमोहन अधिकारीका पालामा शाकार बनाइएको थियो । 

उहाँ अतीव देश प्रेमी हुनु हुन्थ्यो । राष्ट्रघाती काम कुनै पनि सरकार र दलको भए पनि उहाँले विरोध गर्दै र देशको हितको लागि आवाज उठाउँदै आउनु भएको पाइन्छ। युट्युवमा खोजे उहाँका देशभक्तिपूर्ण र राष्ट्रवादी विचार हेर्न सकिन्छ । 

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको पटक पटकको सत्याग्रह पछि गठन भएको चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको तीन सदस्य मध्ये उहाँ पनि सदस्य हुनुहुन्थ्यो। 

सो आयोगमा म न्याय क्षेत्रबाट थिएँ भने उहाँ चिकित्सा र चिकित्सा शिक्षाबाट प्रतिनिधि हुनु हुन्थ्यो । उहाँले स्थापना र सन्चालन गर्दै आउनु भएको न्यूरो अस्पतालमा न्यूरो सर्जरीमा एमडी अध्यापन गराइन्छ । उहाँले उत्पादन गरेका न्यूरो सर्जनहरु नै देशका विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा स्वतन्त्ररुपमा काम गर्दै हुनुहुन्छ। आफ्ना उत्तराधिकारीका रुपमा सयौं न्यूरो सर्जन तयार पारेर उनीहरुलाई नै न्युरो सर्जरीको जिम्मा लगाएर उहाँ बिदा हुनु भएको छ।   

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगमा रहेर नेपाल भरका सवै मेडिकल कलेजको हामीले निरीक्षण गरेका थियौं। उहाँलाई चिकित्सा क्षेत्रमा कसैले पनि ढाँट्न, ठग्न नसक्ने अनुभव मैले गरेँ। कतिपय मेडिकल कलेजहरुले प्mयाकल्टीको नाममा भारतबाट खडेबाबा ल्याएर नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयको निरीक्षण टोलीलाई पहिले पहिले झुक्याएकोमा उहाँको उपस्थितिमा सो कुरा ती मेडिकल कलेजका सन्चालकहरुले नतमस्तक भएर स्वीकार गरेका थिए। 

हाम्रो त्यो आयोगमा उहाँको विज्ञता, अनुभवको आधारमा नै प्रतिवेदन दिइएको हो। 

राजा ज्ञानेन्द्रको शासनकालमा स्वास्थ्यमन्त्री हुँदा राजाका अति निकटकाले स्वास्थ्यमा नेट वर्किङको लागि र धर्मप्रचार र रकम दुरुपयोग गर्ने आइएनजिओले ५० करोड ल्याप्स हुन लागेको र भविष्यमा थप सहयोग आउने भन्दै म्याद थपि दिन पनि राजाकै अति निकटकाले एडभान्स खाइ सकेकोमा पनि देशको हितको लागि भनेर उहाँले तिनीहरुलाई त्यो काम गर्न र म्याद थप गरिदिनु भएनछ। 

उहाँको सक्रियता यी तस्बिरबाट देखिन्छ।

निर्भिक, निडर उहाँ देशको हित, सर्वजनहिताय, सर्व सुखाय, र सस्तोमा चिकित्सा शिक्षा प्रतिभावानले पाउनु पर्दछ भन्ने विचारको हुनुहुन्थ्यो। 

उहाँको अभाव लामो समयसम्म खड्किरहनेछ।  

यस्ता कर्मठ, विख्यात चिकित्सक, प्राध्यापक एवम् सर्जनको दुःखद निधनमा हार्दिक समवेदना, स्वर्गिय आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन्। 

गौरीबहादुर कार्की
सूर्यविनायक, भक्तपुर ।
४ असार २०७५

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने