मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्धको ठगी मुद्दामा थुनछेक बहस सुरु भएको छ। श्रेष्ठविरुद्ध जिल्ला अदालत ललितपुरमा आइतबार २ करोड ७५ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा दायर भएको थियो। सोमबार अदालतले बयान श्रेष्ठको बयान लिएको थियो। मंगलबार सरकारी वकिल र श्रेष्ठका कानुन व्यवसायीहरुले बहस गर्दै धरौटीमा रिहा हुने वा थुनामै जाने निर्णय सुनाउनेछ।
जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले उनको मुद्दा सुनुवाइ भइरहेकोे छ। अदालतले धरौटीमा छोडेमा उनी उक्त रकम बुझाएर रिहा हुनेछन् भने थुनामा पठाएका फैसला नभएसम्म थुनामा बस्नुपर्नेछ।
यसअघि काठमाडौं जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। करिब ३ अर्ब बिगो दाबी गरिएको मुद्दामा जिल्ला अदालतले उनलाई १० लाख धरौटी मात्र माग गरेको थियो। धरौटी बुझाएलगत्तै जिल्ला अदालतवाटै उनलाई प्रहरीले पक्राउ गर्दै ललितपुरमा अनुसन्धान थालेको थियो।
जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इकल इजलासले श्रेष्ठसँग जेठ ३० गते १० लाख रुपैयाँ धरौटी मागेको थियो। जिल्ला अदालतले तोकेको रकम नगद बुझाएर रिहा हुन लाग्दा थप ठगी उजुरी परेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।