विचार/ब्लग

क्यान्सरसँग हारेका डा.देवकोटा

दीपक महत

अर्घाखाँचीको ग्रामीण भेगमा लामो समय चिकित्सा सेवा गरेका डा चित्रप्रसाद वाग्लेले केही वर्षअघि धर्ती छाडे । एपेन्डिक्सको क्यान्सरबाट थलिएका उनले धेरैको जीवन लम्बाए पनि आफ्नै सकेनन् । अन्ततः चिर निद्रामा लीन भए । उनको निधनमा धेरै रोए ।

समय फेरियो । नियती फेरिएन । फेरि क्यान्सरले एक होनहार चिकित्सकलाई हामीबाट टाढा लगेको छ । बाइल डक्ट (पित्त थैली) को क्यान्सरले ग्रसित डा.उपेन्द्र देवकोटा अब हामीमाझ रहेनन् ।

नेपाल तथा विश्वमै नाम कहलिएका न्युुरो सर्जन डा.देवकोटाले आफैले स्थापना गरेको अस्पतालमा जीवनको अन्तिम श्वास फेरे । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका, सरकारी सेवामा २५ वर्ष सक्रिय सेवा गरेका, स्नायु रोगसम्बन्धी सुविधासम्पन्न निजी अस्पताल स्थापना गरी हजारौंको उपचार गरेका डा. देवकोटा सदाका लागि अस्ताएका छन् । 

क्यान्सर रोगको असह्य दुखाइलाई जित्न सहज छैन । त्यसैले यसबाट प्रताडित हुनेहरुले सहज निधनका लागि अनेक बाटो रोज्दै आइरहेका छन् । क्यान्सरसँग जुधिरहेका हरुको पीडाको अनुुभूति गलेको शरीर र छटपटाहटबाट झल्किन्छ । तर, डा. देवकोटामा रहेको आत्मविश्वास र जीवन बुझाइले यसबाट भने टाढा राख्यो । उनमा रहेको विश्वास र आस्था कत्ति पनि डगमगाएन । 

बेलायतको अस्पतालमा उपचारमा रहेकै बेला अपरेशन गर्न नमिल्ने र किमोको प्रभावकारिता पनि नरहेको स्थितिमा उनले आफ्नै माटो नेपालमा सबैसँग रहेर बाँकी जीवनलाई डोर्‍याउने प्रण कसेका थिए । यसबीचमा उनलाई अस्पतालमै भेट्नको लागि शुभेच्छुकको भीड लागिरहेको थियो । उनको स्वास्थ्य लाभको कामना सबैतिरबाट   भयो । उनको चिकित्सकीय कर्मले धेरैका आयु लम्बिए । मुहारमा हर्षको रेखा पोखिए । तर, क्यान्सरले थलिएका उनको, परिवारको र समग्र उनका शुभेच्छुकको मुहार आँशुले सिँचियो । यतिबेला उनको निधनले धेरैको मथिङ्गललाई हल्लाइदिएको छ । अकाट्य मृत्यु बोधलाई फेरि सम्झनुपर्ने बनाइदिएको छ । 

जब निको नहुने रोगको सिकार स्वंयम् चिकित्सक हुन्छ, उसको मनमा के–के बित्छ सबै मनोभावलाई ‘डा. चित्र’ किताबमार्फत डा. चित्र शर्मा वाग्लेले उजागर गरिसकेका छन् । नजिक रहेको आफ्नो मृत्युको हिस्सा आफैले बुझ्नु कति तितो हुन्छ आम मान्छेले अनुमान मात्र गर्न सक्छ । तर, भोग्नेको कष्टप्रद अवस्था भने सोच्नै नसकिने हुन्छ, सायद । डा. चित्रजस्तै डा. उपेन्द्र यही कोटीमा रहे र नजिकिदों मृत्युलाई आत्मविश्वास साथ मुकाबिला गरिरहे । 

उनी आम चिकित्सक तथा स्वास्थ्यकर्मीका प्रेरणा पात्र हुन् भने आम बिरामीका कुशल उपचारक । उनले उपचार गरेर निको भएकाहरु उनी बिरामी रहेकै बेला भक्कानिएको हेर्दा पनि उनले पु¥याएको योगदानलाई  बुझ्न पर्याप्त छ । 

प्राणघातक मानिएको क्यान्सरबाट बर्सेनि विश्वमा थुप्रै मानिसले ज्यान गुमाउँदै आइरहेका छन् । हाल कुल मृत्युको १३ प्रतिशत कारण क्यान्सर हुने गरेको छ । विश्वमा जस्तै नेपालमा पनि यसको दर बढिरहेको छ । औद्योगीकरण तथा शहरीकरण, असन्तुलित खानपान, अस्वस्थ 18कै कारण क्यान्सरबाट प्रताडित हुनेको संख्या उँभो लागेको छ । 

नेपालमा क्यान्सर रोगको उपचारका लागि पर्याप्त अस्पताल खुलेका छैनन् । यसको उपचारका लागि आवश्यक पर्ने उपकरण तथा औषधिको अवस्था पनि त्यस्तै छ । क्यान्सर पत्ता लगाउन तथा परिक्षणपछि संक्रमित कोषको अवस्था, प्रयोग गरिएको औषधिको प्रभावबारे जानकारी दिन पेट स्क्यान उपकरण अति आवश्यक छ । तर, अति आवश्यक मानिएका यी उपकरण नेपालमा एकाध ठाउँबाहेक छैन । त्यसैले पनि धेरै मानिस उपचारका लागि अन्यत्र तथा छिमेकी देश भारत जाने गरेका छन् । क्यान्सर रोगको उपचारका लागि अति आवश्यक विषयसँग सम्बन्धित सरोकारवाला निकायले प्रभावकारी पाइला अगाडि  बढाउनैपर्ने देखिन्छ । आमचाहना रोगै नलागोस् भन्ने नै हो । यदि लागिहाले उपचारमा सास्ती खेप्न नपरोस् भन्ने हो । 

डा.देवकोटाको स्वास्थ्यमा चामत्कारिक सुधार भएको भए सायद उनी यतिबेला बिरामीकै उपचारमा तल्लिन हुने थिए । धरमराएका थुप्रैका जिन्दगीमा उर्जा भरिरहेका हुने थिए । अपरेशन कक्षभित्र घन्टौं टीमवर्कमा रहेर बिरामी बचाउन हरसम्भव प्रयासरत हुने थिए । तर अवस्था फरक भैदियो । रोगका अगाडि कसैको जोर चलेन । क्यान्सरबाट उनको मन नहारे पनि तन हार्न बाध्य भयो । उनी पृथ्वी लोकबाट प्रस्थान गरेका छन् ।    

डा.उपेन्द्र देवकोटाप्रति श्रद्धासुमन 

- (सरकारी सेवामा आबद्ध महत समाज, स्वास्थ्य र साहित्यमा कलम चलाउन्छन्।)

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live