मुख्य समाचार

भरतपुरको क्यान्सर अस्पतालमा सिटी सिमुलेटर र लिन्याक मेसिन जडान हुँदै

स्वास्थ्यखबर

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरिद र जडान प्रक्रिया अगाडि बढाइएको छ। 

अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ उपकरण नथपिँदा बिरामी सेवाका लागि अन्य निजी अस्पतालमा जान बाध्य हुँदै आएका छन्। 

चीन सरकारको सहयोगमा एसियाकै नमूना अस्पतालको रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको यस अस्पतालका अधिकांश विभागका उपकरण पुराना हुँदै गएका छन्। 

नेपाल सरकारको सीमित बजेटमा हरेक वर्ष अत्यावश्यक उपकरण थपिँदै गएको भए पनि अपेक्षाकृत ढंगबाट उपकरण थप्न नसक्दा बिरामीले सोचे अनुरुपको सेवा पाउन सकेका छैनन्। 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार ९ करोड रुपैयाँको लागतमा खरिद गरिएको सिटी सिमुलेटर र १८ करोड रुपैयाँको लागतमा खरिद गरिएको लिन्याक मेसिन जडानका क्रममा छ। शरीरमा देखिएको क्यान्सर रोकथामका लागि सेकाइ गर्नुअघि कहाँ सेकाइ गर्ने भनेर तयारी गर्ने सिटी सिमुलेटर यसअघि अस्पताल स्थापनाका बेला जडान गरिएको थियो। 

आचार्यका अनुसार सन् २००८ मा सम्बन्धित कम्पनीले उपकरण पुरानो भएको भन्दै प्रयोग नगर्न र नयाँ खरिद गर्न सुझाव दिएको थियो। 

बजेट अभावमा सोही उपकरण प्रयोग हुँदै आएकोमा नयाँ उपकरण जडान हुने भएपछि झण्डै एक महिना अघिबाट पुरानो उपकरण हटाइएको छ। 

करिब एक सातामा अत्याधुनिक प्रविधिको फिलिप्स कम्पनीको सिमुलेटर सञ्चालनमा आउने उनले बताए।

अस्पतालले रेडियोथेरापीका लागि अमेरिकाको म्यारियन कम्पनीको लिन्याक मेसिन झिकाएको हो। अस्पतालमा हाल लिन्याक एउटा र कोभाल्ट एउटा गरी २ वटा रेडियोथेरापीका उपकरण छन्। जसका कारण बिरामीले तीन महिना कुरेर रेडियोथेरापी गर्न बाध्य भएका छन्। 

थप लिन्याक उपकरण जडान भएपछि एकदेखि डेढमहिनामा बिरामीको पालो पाउने उनले बताए। पालो नकुरी रेडियोथेरापी गर्न अरु ३ वटा लिन्याक उपकरण थप्नुपर्ने आचार्यले बताउँछन।

हाल जडान प्रक्रियामा रहेको उपकरण ३ साताभित्रमा सञ्चालनमा आउने उनले जानकारी दिए।

अस्पतालले एनेस्थेसियाको अत्याधुनिक दुई थान भेन्टिलेटर पनि खरिद गरी सञ्चालनमा ल्याएको छ भने बिरामीलाई रगत दिँदा छुटा्याएर आवश्यक रगत दिनसक्ने प्लेटलेट्स थेरेसीस पनि प्रयोगमा ल्याएको छ। 

२०५७ मा स्थापना भएको यस अस्पतालबाट वार्षिक १ लाख ३० हजार बिरामीले सेवा लिँदै आएका छन्। जसमध्ये ८ हजारभन्दा बढी क्यान्सरका बिरामी छन्। अस्पतालमा हाल २ सय २५ शय्या सञ्चालनमा छन्। नेपालका प्रायः सबै जिल्ला र भारतीय सीमाक्षेत्रबाट पनि उपचारका लागि यहाँ बिरामी आउने गर्छन्। रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live