धेरैको मन जितेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटा अब हामीमाझ रहेनन्। सोमबार साँझ उनले अन्तिम स्वास फेरे। आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अन्तिम श्रद्धाञ्जलीका लागि उनलाई मंगलबार न्युरो अस्पतालमा राखिएको थियो। जहाँ अन्तिम पटक उनको अनुहार हेर्नका लागि शुभचिन्तक र आफन्तहरुको बाक्लो भिड नै लाग्यो। साना बच्चा बोकेका आमाबाबु होउन् या लठ्ठी टेकेर आइरहेका वृद्धवृद्धाहरु; सबै-सबैमा आँखा लोलाएका अनि रसाएका थिए।
डा देवकोटाले कहिल्यै नफर्किने गरी बिदा मागिसकेका थिए, श्रद्धाका पुष्पगुच्छा अर्पण गर्नेहरुको अनुहार भने ओइलाएको थियो।
यही भिडमा भक्कानिँदै थिइन्, सुन्तला रङको कुर्ता लगाएकी कान्छी थापा। उनी डा देवकोटाकी भान्छे हुन्, जो २५ वर्षदेखि बाँसबारीस्थित देवकोटाको घरमा काम गरिरहेकी छन्।
साढे दुई दशकसम्म सँगै बसेकी उनलाई देवकोटा आफ्नै आमासरह व्यवहार गर्दा रहेछन्। ‘बाबुको माया नलागे त यसरी भक्कानिने गरी आँसु कसरी झर्थे होलान् र?’ वर्षौंदेखि देवकोटाको आनिबानी र रहनसहन बुझ्न पाएकी कान्छीले भनिन्।
बिरामी हुँदा पनि उनी भेट्न अस्पताल पुगेकी थिइन्। भनेकी थिइन्, 'फेरि आउँछु बाबु, चाँडै निको हुनू।' फेरि उनी भेट्न त आएकी छिन्, तर डा देवकोटा कहिल्यै निको हुनेछैनन्। न त घर फर्कन पाउनेछन्।
‘अब देख्न पाउँदिन भनेर आजै मैले उहाँलाई २/३ पल्ट हेरेँ,' भक्कानिँदै कान्छीमायाले सुनाइन्, 'बिरामी हुँदा भेटेको थिएँ। फेरि भेट्न आउँछु भनेर गएकी थिएँ तर…' यसपछि उनको गला अवरुद्ध भयो। बाँकी शब्द घाँटीमै अड्किए।
आफ्नो जन्मघर गोरखा गएका बेला पनि डा देवकोटाले घर स्याहार्ने जिम्मा आफूलाई नै दिने गरेको कान्छीले बताइन्।
‘त्यतिका वर्ष सँगै बसेर होला मैले उहाँलाई कहिल्यै डाक्टर सा'ब भनिनँ। सधैं बाबु भनेर सम्बोधन गर्थें,' उनी भन्छिन्, ‘मलाई आमासरह माया गर्ने बाबुका परिवारले पनि मलाई उत्तिकै माया गर्छन्।’