प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले थारु समुदायको बस्ती भएका बाँके, बर्दिया र दाङका स्थानीय तहमा सिकलसेल एनिमिया रोगको परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने बताएका छन्।
१०औं विश्व सिकलसेल एनिमिया दिवसको अवसरमा बर्दियाको बार बर्दिया नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बरालले सिकलसेल एनिमिया रोगको उपचार थप प्रभावकारी बनाउन प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छुट्टै बजेटको व्यवस्था मिलाएको जानकारी समेत दिए।
सोही कार्यक्रममा बोल्दै नेपालगन्जको भेरी अञ्चल अस्पतालका प्रमुख डा प्रकाश थापाले सिकलसेल एनिमिया रोग भए/नभएको थाहा पाउनका लागि गरिने रगत परीक्षण पनि नयाँ आर्थिक वर्षदेखि निःशुल्क गरिने बताए। अहिले यो रोग यकिन गर्न अञ्चल अस्पतालमा रगत जाँच गर्दा एक हजार तिर्नुपर्छ भने निजी स्वास्थ्य संस्थामा २ हजारसम्म तिर्नुपर्ने अवस्था छ।
कार्यक्रममा भेरी अञ्चल अस्पतालका सिकलसेल रोग विशेषज्ञ डा राजन पाण्डेले पश्चिम नेपालका थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेल एनिमिया र यसको उपचारमा भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
बारबर्दिया नगरपालिकाले थारु समुदायका सबै जनाको रगत परीक्षण गरी रोग नदेखिएकालाई हरियो कार्ड, सामान्य रोग देखिएकालाई पहेलो कार्ड र रोगको संक्रमण बढी देखिएकालाई रातो कार्ड उपलब्ध गराउने मेयर दुर्गाबहादुर थारुले बताए। उनले यो रोगबारे पर्याप्त जानकारी दिनेगरी कक्षा ९ को पाठ्यपुस्तकमा समेट्ने तयारी गरेको समेत जानकारी दिए।
स्वास्थ्यखबरका पत्रकार सम्मानित
कार्यक्रममा सिकलसेल एनिमिया रोग सम्बन्धी खोजमूलक रिपोर्टिङ मार्फत जनचेतना बढाउने तथा सहज उपचार सेवा पाउन सक्ने अवस्था सिर्जना गर्न योगदान गरेको भन्दै स्वास्थ्यखबरका संवाददाता कृष्ण अधिकारीसहित बाँके र बर्दियाका पत्रकारहरुलाई सम्मान गरिएको थियो।
वंशानुगत रुपमा देखिने सिकलसेल एनिमिया प्राय रोगबाट संक्रमित बाबु–आमाबाट जन्मने बच्चामा देखिन्छ। योग खासगरी थारु समुदाय र त्यसमा पनि प्राय १५ देखि २५ वर्ष उमेरका युवायुवतीमा देखिने गरेको छ। रगतको मात्रा कम हुने, जन्डिस देखिने, जोर्नी लगायत शरीरका अन्य भाग दुख्ने रोगका लक्षणहरु हुन्।
सिकलसेल एनिमिया रोग लागेका व्यक्तिहरुको उपचारमा नेपाल सरकारले १ लाख रुपैयाँ उपचार खर्च बेहोर्ने गरेको छ। भेरी अञ्चल अस्पतालबाट हालसम्म करिब ५ सय बिरामीले निःशुल्क उपचार सेवा लिइरहेका छन्।