विश्व स्वास्थ्य

अस्पतालको शय्याबाट अभिनेता इरफान खानको भावुक पत्र – मेरो जीवनको स्टेसन अहिल्यै आएको छैन


केही महिनाअघि मलाई थाहा भयो, मलाई न्युुरोइन्डोक्राइन क्यान्सर भएको रहेछ। मैले पहिलोपटक यो शब्द सुनेको थिएँ।

सोधखोजपछि थाहा भयो, यो रोगका बारेमा त्यतिधेरै अनुुसन्धान भएको रहेनछ। यो एक अचम्म खालको शारीरिक अवस्था हो र यसको उपचारको अनिश्चितता बढी छ। 

अहिलेसम्म म जीवनको दौडमा कहिले तीब्र गतिमा त कहिले मन्द गतिमा दौडिरहेको थिएँ। मेरा अनेक योजना, आकांक्षा तथा सपना थिए। 

मेरो जीवनको यात्रा जारी थियो। अचानक ‘टिकट चेकर’ ले  भनिदियो– तपाईंको स्टेशन आइसक्यो, उत्रनुहोस्।

मैले बुुझ्न सकिनँ। मैले भनें, ‘हैन, हैन मेरो स्टेशन अहिल्यै आएको छैन।’

जवाफ आयो, ‘अर्को स्टेशनमा उत्रनुुपर्नेछ, तपाईंको गन्तव्य आइसक्यो।’

अचानक महसुस भयो। तपाईं बिर्कोजस्तै अन्जान सागरमा, अप्रत्याशित छालहरुमा बगिरहनु भएको छ। छालहरुमा नियन्त्रण गर्ने भ्रमका लागि। 

डराएर, हडबडाएर छोरोसँग भन्छु, ‘आजको यो हालतमा म मात्र यति चाहन्छु....म यो मानसिक स्थितिमा हडबडाहट, डरको हालतमा बाँच्न चाहन्न, मलाई कुनै पनि हालतमा मेरो खुट्टा चाहिन्छ, जसमा उभिएर आफ्नै हालतमा तटस्थ भएर बाँच्नु पाऊँ, म उभिन चाहन्छु।’

यही मेरो चाहना थियो। 

केही हप्तापछि म एक अस्पतालमा भर्ना भएँ। निकै पीडा भइरहेको थियो। थाहा थियो पीडा हुनेछ, त यस्तो पीडा....अब पीडा के हो भने थाहा भइहेको थियो।

केहीपनि काम  गरिरहेको थिएन। न कुनै सान्त्वना, न कुनै भरोसा। पीडा भगवानभन्दा पनि ठुलो र विशाल महसुस भइरहेको थियो। 

म जुन अस्पतालमा भर्ना भएको छु, त्यसको बाल्कोनी छ, बाहिरको दृश्य देखिइरहेको छ। कोमा वार्ड मेरो ठीक माथि छ। सडकको एकातिर मेरो अस्पताल छ भने अर्कोतिर लडर््स स्टेडियम छ, जहाँ भिभियन रिचर्ड्सको मुुस्कुराइरहेको पोस्टर छ। मेरो बाल्यकाल सपनाको मक्का, त्यसलाई देख्दा पनि मलाई कुनै महसुस भइरहेको थिएन। मानौं, त्यो दुुनिया मेरा लागि कहिल्यै भएन। 

म पीडाको बन्धनमा छु। 

र, फेरि एकदिन महसुस भयो...जस्तो म कुनै यस्तो चिजको हिस्सा होइन, न अस्पताल, न स्टेडियम। मभित्र जो बाँकी थियो, त्यो वास्तवमा असीम शक्ति र बुद्धिको प्रभाव थियो। म अस्पतालमा थिएँ। तर अनिश्चितता नै निश्चित थियो। 

यो महसुसले मलाई समर्पण र भरोसाका लागि तयार ग¥यो। अब परिणाम जे भएपनि, यसले जहाँ लगेपनि आजको आठ नौ महिनापछि, या आजको चार महिनापछि या दुुईवर्षपछि, चिन्ता सकियो र फेरि विलिन हुन लाग्यो र मेरो दिमागबाट मर्ने–बाँच्ने हिसाब निस्किएर  गयो। 

पहिलोपटक मलाई स्वतन्त्रताको महसुस भयो। सही अर्थमा। एक उपलब्धिको महसुस। 

यो ब्रम्हाण्डको भनाईमा मेरो विश्वास नै पुर्ण सत्य बन्यो। त्यसपछि के लाग्यो भने त्यो विश्वास मेरो एक कोशिकामा बस्यो। समयले नै बताउनेछ, त्यो सत्य हो कि होइन। अहिले भने म यही विश्वास गरिरहेको छु। 

यो यात्रामय जिन्दगीमा सबै मेरो स्वास्थ्यको कामना गरिरहेका छन्। प्रार्थना गरिरहेका छन्। मलाई के लागेको छ भने उनीहरु सबैको प्रार्थना एक भएको छ, एक ठुलो शक्ति। तीब्र जीवनधारा बनेर मेरो स्पाइनबाट ममा प्रवेश गरेर टाउकाको माथि कपालबाट अंकुरित भइरहेको छ। अंकुरित भएर यो कहिले कोपिला, कहिले पात,कहिले शाखा बन्छ। म खुशी भएर तिनलाई हेर्छु। मानिसको सामुहिक प्रार्थनाबाट प्राप्त हरेक पात, हरेक फुूल एक नयाँ संसार देखाउँछ। महसुस हुन्छ, छालमाथि बिर्कोको नियन्त्रण  जरुरी छैन।

बीबीसी हिन्दीबाट अनुवाद

(न्युुरोइन्डोक्राइन क्यान्सरबाट पीडित बलिउड अभिनेता इरफान खान हाल लण्डनमा उपचार गराइरहेका छन्। यो चिठ्ठी उनले लण्डनबाट आफ्ना मित्र एवं पत्रकार अजय ब्रहात्मजलाई पठाएका हुन्। )
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने