भरतपुर महानगरपालिकाभित्रका स्वास्थ्य संस्थालाई मर्करी (पारो) मुक्त बनाउने अभियानले सफलता पाउने भएकाे छ। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वातावरण कोष र साना अनुदान कार्यक्रम नेपालको सहयोगमा सञ्चालित दुई वर्षे परियोजनाले विगत ११ महिनादेखि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्।
सोमबार १४ वटा अस्पताल तथा डेण्टल क्लिनीकले मर्करीमुक्त अभियानमा प्रतिबद्धता जनाएका छन्।
पुष्पाञ्जली अस्पताल र सप्तगण्डकी अस्पताल, भरतपुर अस्पताल, जयबुद्व अस्पताल, नेस्नल सिटी, एलाईभ अस्पताल, नारायणी सामुदायिक अस्पताल तथा मनकामना अस्पतालले दन्त विभाग पूर्णरुपमा मर्करी निषेध गर्ने भएका छन्।
यस्तै पदम डेण्टल, श्री डेण्टल क्लिनीक, सनराइज डेण्टल, हेल्दी स्माइल डेण्टल, फरेभर हेल्दि स्माइल डेण्टल, स्माइल डेण्टलले पनि यस अभियानमा साथ दिने भएका छन्।
ती सबै अस्पताल र डेण्टल क्लिनीकहरूलाइ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले मर्करी मुक्तको स्टिकर प्रदान गरेका छन्।
“स्वतस्फूर्त रुपमा मर्करी प्रयोग नगर्ने क्रम बढेको छ”, जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक राम चरित्र साह भन्छन्, “अबको एक वर्षमा सबै स्वास्थ्य संस्था मर्करी मुक्त बनाइने छ ।”
मर्करीयुक्त रसायन, मर्करीयुक्त उपकरण (तापक्रम नाप्ने थर्ममिटर, रक्तचाप नाप्ने ब्लड प्रेसर मिटर), भ्याक्सिन तथा औषधिमा प्रयोग भएका मर्करीयुक्त प्रिजरभेटिभ झोलले स्वास्थ्य तथा वातावरणमा नकरात्मक प्रभाव पार्ने भएकाले मर्करी मुक्त अभियान चलाइएको हो।
चिकित्सा क्षेत्रमा प्रयोग हुँदै आएको मर्करी मिसिएका रसायन वा उपकरणले स्नायु प्रणाली, फोक्सो, मृगौला, छाला, आँखामा नकरात्मक असर पुर्याउनुका साथै रोगप्रतिरोधात्मक क्षमतामा समेत ह्रास ल्याउँछ।
मर्करी एउटा गह्रुङ्गो धातु हो। यसको प्रयोग दन्त चिकित्सामा अधिक प्रयोग हुने गर्छ । “दाँत फिलिङ गर्दा मर्करी वा सिल्भर फिलिङ होइन, कम्पोजिट फिलिङ वा ग्लास आसोनोमर गर्न प्रेरित गरेका छौँ”, उनले भने, “मर्करीजन्य रसायन र उपकरण प्रयोग निषेध गरिनुपर्छ ।” यस्तै, मर्करीयुक्त ट्यूबलाईट, सीएफएल चिमको प्रयोगपश्चात् उचित व्यवस्थापनको नीति अवलम्बन गर्न परियोजना केन्द्रित भएको बताए।
चितवनमा सरकारी २ ठूला अस्पताल,२ वटा मेडिकल कलेज, २६ वटा अन्य नीजि अस्पताल, १ सय ४५ बढी पोलिक्लिनिक तथा डेण्टल क्लिनिक सञ्चालनमा छन्। “भरतपुरलाई मर्करी मुक्त मेडिकल सिटीका रुपमा विकास गर्न परियोजनाले सघाउने अपेक्षा गरेका छौँ”, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले भने, “१५ दिन भित्रै मर्करीमुक्त गर्न सार्वजनिक सूचनानै जारी गरी आवश्यक परे अनुगमन समेत गर्न तयार छौँ।”
मर्करी विषालु तत्व भएकाले यसको प्रयोग राेक्न जरूरी छ। रगत परीक्षण वा कपालबाट नै मर्करीको मात्रा पत्ता लगाउन सकिन्छ। निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले मर्करीमुक्त बनाउन नीजि अस्पताल तयार रहेको बताए।
नेपाल सरकारले आर्थिक वर्ष ०७०/०७१ देखि मर्करीजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ ।भरतपुरमा वार्षिक झण्डै १५ केजी मर्करी खपत हुने अनुमान छ। झण्डै ४० लाख खर्चेर भरतपुरलाई मर्करी मुक्त बनाउने काम भइरहेकाे छ।