पोखरा– प्रदेश ४ को संसद् बैठकले खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ।
कार्यवाहक सभामुखले असहमति जनाउन दिएको समयमा कसैले हात नउठाएपछि खोप सेवा विधेयक पारित भएको हो।
उक्त विधेयकमाथिको छलफलमा बोल्दै सांसद दोबाटे विश्वकर्माले स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याइँका कारण बेलाबेलामा अप्रिय घटना हुनेगरेको बताए। उनले आवश्यक योग्यताबिना खोप लगाउँदा ज्यान तलमाथि भएमा हुने सजाय बढाउन समेत माग गरे।
विधेयकमा आवश्यक योग्यता नभएका व्यक्तिले खोप लगाउँदा बिरामीको मृत्यु भएमा ५ लाखसम्म जरिवाना हुनसक्ने प्रावधान छ। सांसद पुष्पा केसी भण्डारीले विधेयकले नेपालको विद्यमान स्वास्थ्य समस्यालाई समाधान गर्ने प्रयास गरेको बताइन्।
छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सामाजिक मामिला मन्त्री नरदेवी पुनले जवाफ दिइन्। उनले खोप उत्पादक देशले आफ्नै देशमा प्रयोग गरेका, 11 संगठनले मान्यता दिएका खोपहरु मात्र प्रयोग गर्न पाइने प्रावधान विधेयकमा रहेको प्रस्ट गरिन्।
मन्त्री पुनले गत जेठ ३० मा खोप विधेयक प्रदेशसभामा प्रस्तुत गरेकी थिइन्।
प्रदेशसभा बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक विधायन समितिमा पठाउने निर्णय समेत गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले विधेयक विधायन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए।
संसदको अर्काे बैठक बिहीबार बिहान ११ बजे बस्नेछ।