अन्तर्वार्ता

योगले शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्छ : डा वासुदेव उपाध्याय

अन्तर्राष्ट्रिय योग दिवस

 

आज चौथो अन्तराष्ट्रिय योग दिवस। देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाइँदै छ। दिवसकै सेरोफेरोमा आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायसँग स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानीः

योग भनेको के हो?
पूर्वीय दर्शन अनुसा हिन्दु धर्ममा वैदिककाल देखि नै योगको कुरा आएको हो। योगलाई विभिन्न प्रकारले विभिन्न चरणमा प्रयोग गर्दै आइरहेको छौं। मुलतः योगका आठ वटा भागहरु छन्ः ती हुन् यम, नियम, आसन, प्रणायम, प्रत्यहार, धारणा, ध्यान र समाधि।

योगका आठवटा भागलाई विभिन्न वैज्ञानिकहरुले अलग –अलग किसिमले व्याख्या गरेका छन्। जस्तैः दार्शनिक कालमा योगलाई धारणा, ध्यान र समाधि अवस्थाका लागि भनेर सुरु गरिएको थियो। 

५० वर्षभन्दा पहिले मानिसहरु योग त साधुले मात्र गर्छन् भन्ने सोचाइ राख्थे। योग भनेको त जोगीहरुले जंगलमा बसेर गर्ने हो, गृहस्थमा योग गर्नु हुँदैन भन्ने मान्यता थियो। अब यसको मान्यता बदलिएको छ। योगका दुई भाग यम र नियम व्यवहारसँग सम्बन्धित छन्। त्यसले आफू भन्दा सानालाई माया गर्नुपर्छ अनि ठूलाको सम्मान गर्नुपर्छ, हिंसा गर्नुहुँदैन, लोभ लालच गर्नु हुँदैन भन्ने कुराको ज्ञान गराउँछ। आसन र प्राणायमले भने शारीरिक व्यायमसँग सरोकार राख्छन्।

यी आठवटा चीजलाई नबुझेर योगलाई शारिरीक व्यायाम मात्र बुझिएको छ तर त्यो होइन यसले शारीरक तथा मानसिक दुवैको व्यायाम गर्छ। 

योगका के फाइदाहरु छन्?
आयुर्वेद विभाग, स्वास्थ्य मन्त्रलाय, विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यसँग सरोकार राख्ने विभिन्न निकायहरुले नेपालमा र विश्वमै सर्ने रोगभन्दा पनि नसर्ने रोगको जोखिम बढेको औँल्याएको छ। 

अहिले रोगको ढाँचा परिवर्तन भएको छ। पहिला नेपालमा र विश्वमै सर्ने रोगबाट मानिसहरुको बढी मृत्यु हुन्थ्यो भने अहिले ठ्याक्कै उल्टो भएको छ। नसर्ने रोग जस्तै मधुमेह, मुटुरोग, क्यान्सर लगायतका रोगहरुका कारण मानिसले ज्यान गुमाइरहेका छन्। विश्व स्वास्थ्य संगठनको सर्भेले यस्ता रोगबाट बच्न सकिने बताएको छ। यसका लागि सूर्तीजन्य तथा मद्यपान नगर्ने, स्वास्थ्य जीवनशैली अपनाउने, तनावमुक्त रहने अनि शारीरीक व्यायाम गर्ने भनेको छ। नसर्ने रोगको रोकथामको लागि योगका आठ वटा भागहरुले सहयोग पु¥याउने गरेका छन्।

अहिले मानिसहरु छिट्टै डिप्रेसनमा पर्न थालेका छन् त्यसका लागि मानिसहरु ध्यान गर्न जरुरी छ। योग भनेको शारीरिक व्यायाम मात्र होइन यसले दिनचर्या पनि बताउँछ, जीवनशैलीको पनि कुरा गर्छ। शारीरिक र मानसिक दुवै रुपमा स्वास्थ्य राख्ने काम योगले गर्छ।

योगप्रति कत्तिको क्रेज बढेको छ?
नेपालीहरु योग गर्नप्रति इच्छुक देखिएका छन्। अहिले आएर योगको यति मार्केटिङ भइसक्यो कि मानिसहरु यसप्रति निकै सचेत देखिएका छन्। दैनिक जीवनमा स्वस्थ्य रहन योग गर्नुपर्छ भन्ने मान्यता धेरैमा पलाइसक्यो। टुँडिखेल मै जानुहोस् या गाउँघरमा जानुहोस, घर–घरमा जानुहोस् कुनै न कुनै रुपमा योगका आसनहरु गरिरहेका भेटिन्छन् मानिसहरु। एक दशकभित्रमा मानिसहरुमा स्वस्थ्य रहनको लागि योग आवश्यक छ भनेर बुझेको मैले पाएको छु।

योग जोसुकैले पनि गर्नसक्छन्?
योगमा शरीरका निश्चित शारीरिक मुद्राहरु मिलाउनुपर्ने हुुन्छ। कुनै कुनै आसनहरु उच्चरक्तचाप भएका मानिसहरु, ढाड दुख्ने समस्या भएका मनिसहरुले गर्न नमिल्ने हुन्छ। त्यसैले आफूले कस्तो किसिमको योग आसन गर्न चाहेको हो सरसल्लाह लिएर मात्र गर्नुपर्छ।

सबै उमेरसमूहले गर्न मिल्ने योग आसन भनेको १२ वटा चरणहरु भएको सूर्य नमस्कार हो। यो बच्चा देखि वृद्धा सबैले मज्जाले गर्न सक्छन्।  

अहिले योगभन्दा जिम जाने फेसन जस्तै भइसक्यो? योग वा जिम कसले गर्छ फाइदा?
शारीरिक व्यायाममा अहिले जिम जाने प्रचलन नबढेको होइन। यसको क्रेज बढेको देखिन्छ। जिम अलि खर्चिलो हुनुका साथै समय पनि यसमा बढी चाहिन्छ तर योगमा त्यस्तो हुँदैन। 

जो व्यक्ति आफू शारीरिक रुपमा फिट रहन चाहन्छ योगले धेरै फाइदा गर्छ। जिम दैनिक जानुप¥यो, आर्थिक पाटो पनि आउला, समयको व्यवस्थापन पनि होला। त्यस हिसाबले सबैभन्दा कम खर्चिलो, भरपर्दो, समयको पनि बचत गर्ने भनेको योग नै हो। बिहानै उठेर योगका एक दुइवटा आसन गर्ने हो भने शरीर निकै फूर्तिलो हुन्छ। जिम जान छोड्यो भने त्यसले शरीरलाई बेफाइदा गर्छ तर योगले गर्दैन। ७० वर्षका मानिस जिम जान्छु भनेर जानसक्दैन तर उमेरअनुसार योग भने गर्न सक्छन्।

योग दिवस नारामा मात्र सिमित छ की? कामहरु भइरहेका छन्?
कुनै दिवसले त्यस दिन जनतालाई कसरी सचेत गराउने भनेर कार्यक्रम आयोजना गर्दछ तर त्यसबाहेक अरु दिन पनि विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ। 

दिवसकै अवसरमा भने स्वास्थ्य मन्त्रलायले आयुर्वेद विभाग अन्तर्गत विभिन्न निकायहरु जस्तै स्वास्थ्य केन्द्र लगायत आयुर्वेद औषधालयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम गर्ने भनेर पठाइसकेको छ।

योग दिवस नारामा मात्र सिमित छैन। हामीले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सञ्चालन गर्छौँ। त्यसैगरी विद्यालहरुमा पनि योग र जीवनशैलीसँग सम्बन्धित कार्यक्रमहरु हुन्छन्। हाम्रो प्राथमिकता भनेको विद्यार्थीकालदेखि नै योगलाई  प्राथमिकतामा दिनुपर्छ अनि जंक फुड खान हुँदैन भन्ने जनचेतना फैलाउनु नै हो।

गाउँगाउँमा यसको लहर कस्तो छ? स्थानीय तहमा गइसकेपछि यसको सचेतना कसरी बढेको छ?
संघीय संरचनामा देश गएपछि झ्न यसको जनचेतना बढ्दै गएको छ। सबै कार्यक्रम तथा बजेटहरु स्थानीय निकायमा गइसकेका छन्। त्यसमाथि स्थानीय तहको बजेटमा योग, जीवनशेली र जडिबुटीलाई प्राथमिकतामा राखेर बजेट छुट्याइ सकेको अवस्था छ।

अब त झन् प्रदेशको बजेटमा यो कुरा पनि आइसकेको छ। पछिल्लो संरचनाको अनुसार प्रत्येका जिल्लामा योग हलहरु निर्माण गर्ने, त्यहाँका समूदायहरुलाई बोलाएर योग गराउने गरेका थियौँ । अब स्थानीय तहमा हस्तान्तरणमा भइसकेपछि झन् प्रभावकारी रुपमा सञ्चालन हुन्छन् भन्ने आशा छ।

प्रधानमन्त्रीले भर्खरै आरोग्य नेपालको अवधारणा ल्याउनुभएको छ। त्यो पूरा गर्न पनि घरघरमा, गाउँगाउँमा योग पु¥याउन जरुरी छ। ‘म स्वस्थ्य देश स्वस्थ्य’ भन्ने नारालाई आत्मसाथ गर्नुपर्छ। योगको सचेतना फैलाउन घरबाटै सुरुवात गर्नुहोस्। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने