मुख्य समाचार

कर्णालीको दुर्गम भेगका सुत्केरीको भरोसा बन्दै जुम्ला अस्पताल

हेलिकोप्टरबाट उद्धारले जीवनरक्षा

 धनबहादुर क्षेत्री

हुम्ला ताचाकोट गाउँपालिका ३ रोकाया गाउँकी ३५ वर्षीया जुनकली रोकायालाई गत आइतबार सुत्केरी व्यथा लाग्यो। नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन जाँदा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएपछि उनले घरमै सुत्केरी हुने निधो गरिन्। 

तर, साँझ ६ बजेदेखि व्यथा लागे पनि मध्यरातिसम्म बच्चा निस्किएन। प्रसव पीडाका कारण जिउने आशा नै त्यागिसकेको अवस्थामा जुनकलीकै भाषामा उनले अर्को जन्म पाइन्। कार्यपालिका सदस्य समेत रहेकी उनले भनिन्, ‘मैले बाँच्ने कल्पना गरेकी थिइनँ, तर भगवानले बचाए। मेरा भगवान् भनेकै डाक्टर सा’ब हुन्।’

हुम्लामा उपचार नहुने भए पनि गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्पर्क गरेर हेलिकोप्टरबाट जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएपछि उनले पुनर्जन्म पाएकी हुन्। 

‘सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा निस्कन नसक्दा मरिसक्यो भन्ने लागेको थियो’, उनले भनिन्, ‘तर हेलिकोप्टरले समयमै अस्पताल पुर्यानउँदा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेछ।’

जुनकलीका पति जंगलाल रोकायाले बच्चालाई तलमाथि केही भए पनि आमा बचाउनकै लागि हेलिकोप्टर मगाएको बताए। 

‘श्रीमतीको अवस्था हेर्दा बाँच्ने आसै थिएन, हुम्लामै भएको भए मर्थिन् होला। जुम्ला ल्याएपछि सँगै जिउने आस पलायो’, उनले भने। 

प्रतिष्ठानका डाक्टर विनोद अर्यालसहितको टोलीले जुनकलीको सफल शल्यक्रिया गरी आमा र बच्चा बचाएको हो। 

यसअघि हुम्लाकै चंखेली गाउँपालिका वडा नम्बर ६ की १९ वर्षीया वसन्ती शाहीलाई ४ दिनदेखि सुत्केरी व्यथा लागेको थियो। बच्चाको हात निस्किएर रक्तस्राव भइरहेको उनको अवस्था देख्दा परिवारमा तनाव थपिएको थियो। विकल्पको खोजी गर्ने क्रममा सदरमुकाम सिमीकोट लैजान गाउँलेहरुले सुझाए, जहाँ पुग्नै ३ दिन लाग्थ्यो। तर, प्रसूति व्यथाले छटपटाइरहेको अवस्थामा त्यत्तिका दिन लगाएर पठाउनु ठूलो जोखिम थियो।  

यसपछि जिल्ला स्वास्थ्य कार्यालयकै समन्वयमा हेलिकोप्टर मगाएर जिल्ला अस्पताल हुम्ला पुर्‍याइयो र त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरेर जुम्ला अस्पताल ल्याइयो। जुम्ला पठाइएको सूचना आउनेबित्तिकै कर्णाली अस्पतालको एम्बुलेन्स विमानस्थल पुगिसकेको थियो। यता, अस्पतालमा चिकित्सकहरु शल्यक्रियाका लागि तम्तयार थिए।  

अस्पताल ल्याउनु अगाडि नै बच्चाको ज्यान गइसके पनि आमालाई बचाउन चिकित्सक सफल भए। 

चार दिनदेखि वसन्तीको पीडा देखेर आत्तिएका भैरव श्रीमतीलाई सकुशल देख्दा खुसी छन्। उनले श्रीमतीलाई बचाउने डाक्टरहरु भगवान् भएका र अस्पताल देउताको मन्दिर भएको प्रतिक्रिया दिए। 

‘मन्दिर र भगवानको जति बयान गर्दा पनि कम नै हुन्छ’, उनले खुसी साट्दै भने।

हुम्लाबाट हेलिकोप्टर मार्फत उद्धार गरी कर्णाली अस्पतालमा सुत्केरीको शल्यक्रिया भएको यो नै पहिलो पटक हो। यसअघि मुगु, कालिकोट र डोल्पाबाट सुत्केरी गराउन एम्बुलेन्स र घोडाबाट जुम्ला ल्याउने गरिन्थ्यो। 

हुम्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएका वसन्ती र जुनकलीको सफल शल्यक्रिया भएसँगै दुर्गमका महिलाले प्रसूति हुने बेलामा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने आस बढेको छ। यसअघि सुत्केरी हुन नसकेर धेरैको ज्यान जाने गरेको थियो। 

वसन्तीको शल्यक्रिया गर्दाको क्षण सम्झिँदै प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा विनोद अर्यालले भने, ‘बच्चाको धड्कन नभएपछि आमाको ज्यान कसरी जोगाउन सकिन्छ भन्ने विषयमा चिन्तित भएर लागिपरेका थियौं। शल्यक्रिया सफल हुँदा खुसीको सीमा रहेन।’  

हुम्ला जिल्ला अस्पतालमा खटिएका डा दिल शाहीले बच्चा मरिसकेको थाहा भएपछि अस्पतालमा प्रविधि कम भएकाले तत्कालै रिफर गरेर प्रविधि र विशेषज्ञ जनशक्ति भएको कर्णाली अस्पताल जुम्ला पठाएको बताए। 

हुम्लाको सबै भेगका लागि जिल्ला अस्पताल पहुँचमा छैन। अस्पताल पुर्याभउन नपाउँदै ज्यान गुम्ने खतरा हुन्छ। कर्णाली सरकारको पहलमा हेलिकोप्टरबाट प्रसूतिका लागि जुम्ला पुर्यायउन थालिएपछि दुर्गम भेगका लागि कर्णाली अस्पताल भरोसाको केन्द्र बनेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा महिनामा ६० जना र वर्षमा ८ सय जना गर्भवतीले सुत्केरी सेवा लिने गरेका छन्। 

३ दर्जनभन्दा बढी विशेषज्ञ डाक्टरले सेवा दिइरहेका प्रतिष्ठानमा स्त्रीरोग विशेषज्ञ ३ जना र स्त्रीरोग सम्बन्धी नै तालिमप्राप्त ३ जना नर्स रहेको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए।

कर्णालीका जिल्लाहरुमध्ये केन्द्र भागमा रहेको जुम्लामा आसपासका जिल्लाबाट १५ देखि २० मिनेटमा हेलिकोप्टरले बिरामीलाई जुम्ला ल्याउन सक्ने भन्दै उनले  प्रतिष्ठानमा अब एयर एम्बुलेन्सको खाँचो रहेकोमा जोड दिए। 

‘हामीसँग दक्ष जनशक्ति र प्रविधि छ। समयमै अस्पताल ल्याए बिरामीको उपचार हुन्छ’, उनले भने, ‘अब प्रतिष्ठानलाई सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नु आवश्यक छ।’

यसो हुन सकेमा कर्णालीमा जटिल अवस्थाका गर्भवतीको उद्धार र उपचारमा सहजता आउने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने