नर्सिङ

नर्सिङ पेसा : आफ्नो समस्या बिर्सेर बिरामीको अगाडि हाँसेर सेवा गर्नुपर्छ

 पोलिना पौड्याल,  मेट्रोन स्टार हस्पिटल

सेता लुगा लगाएर अस्पतालमा बिरामीको सेवा गर्ने उनको सानैदेखिको रहर थियो। तीन छोरीमध्ये एकले मेडिकल फिल्डमा काम गरुन् भन्ने आमाको चाहनाले पनि उनको रहरलाई मलजल गर्‍यो। बुबाले पनि नर्स पढेर दुःख पाउछेस् भनेपनि नपढ् भनेर कहिल्यै दबाब दिनुभएन।

त्यतिबेला गाउँघरमा छोरीलाई राम्रो विषय पढाउन नर्सिङ नै रोज्ने चलन थियो। आमाको सपना र आफ्नो रहर पूरा गर्न पोलिना पौड्यालले एसएलसी सकिनासाथ आइकम पनि पढ्ने र नर्सिङमा नाम निकाल्ने प्रयास एकसाथ जारी राखिन्। त्यही निरन्तर प्रयासको परिणाम उनीअहिले स्टार अस्पतालमा मेट्रोन छिन्। 

उनले २०५५ देखि ०६१ को बीचमा स्टाफ नर्सको पढाई सकिन्। लगत्तै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गर्ने मौका मिल्यो। सन् २००९ मा जागीर छाडेरै मनमोहन कलेजबाट बिएन गरिन्। त्यसपछि नागरीक कलेजमा ३ वर्ष अध्यापन गरिन्। त्यही अन्तरालमा साढे एक वर्षका लागि अमेरिका जाने अवसर पाएकी उनले जियाटिक एकेडेमीमा काम गर्ने मौका पाइन्। त्यसपछि २०७२ देखि स्टार अस्पतालमा मेट्रोनको रुपमा कार्यरत छिन्। 

मेट्रोन भएर काम गर्दा थुप्रै नर्स, बिरामीसँग संगत गर्ने मौका मिल्यो उनलाई। त्यही क्रममा उनले भोगेका अनुभूतिहरू :

०००

सेतो ड्रेस लगायो, अस्पताल गयो, जागिर खायो। मानिसहरुलाई देख्दा लाग्दो हो नर्स पेसा सजिलो हो। तर हामी नर्सहरू दिनरात नभनी काममा खटिनुपर्ने हुन्छ।  काम गर्दा विभिन्न किसिमका समस्या आइपर्छन्। जे–जस्तो समस्या आए पनि बिरामीका अगाडि जाँदा हाँसेर सेवामा जुट्नु पर्छ। त्यसैले नर्सिङ पेसा जागिर मात्र होइन, सेवा र समर्पण हो।

नर्सले बिरामीसँग नजिकिएर काम गर्नुपर्ने भएकाले तीता–मिठा दुवै अनुभव गर्न पाउँछन्। निको भएर घर फर्कँदै गर्दाका बिरामी र आफन्तका माया र सम्मान साह्रै यादगार हुन्छन्। अर्कोतर्फ बिरामीको अनुपातमा नर्सको व्यवस्था नहुँदा एउटै नर्सले कति धेरै बिरामीको हेरचाह गर्नुपर्छ।

कुनै बिरामीलाई साह्रो–गाह्रो भइरहेको बेला थोरै ढिलो गरी मात्र ‘रेस्पोन्स’ गर्नुपर्ने बाध्यता आयो भने पनि बिरामीका आफन्तको गाली  खानुपर्ने  हुन्छ। ड्युटीको कुनै टुंगो नहुने पेसा हो यो। कहिले बिहान, कहिले दिउँसो त, कहिले राति ड्युटीका लागि तयार हुनुपर्छ। यसले नर्सको व्यक्तिगत र पारिवारिक जीवनमा कठिनाइहरु पनि आउन सक्छन्।

मेट्रोन भएर काम गर्दा पूरै स्टाफको जिम्मा लिनुपर्ने हुन्छ। अहिलेको पूस्ता पहिलेको जस्तो छैन। पहिले नर्समा अस्पतालको काम देख्यो भने मैले गर्नुपर्छ भन्ने भावना थियो। अहिले त्यस्तो छैन। 

नर्सिङ सेवा भनेको सामूहिक कार्य हो। म यो काम गर्दिन भनेर कसैले पनि भन्न पाउँदैन। सबै मिलेर गर्नुपर्छ। पहिले नर्स पढ्दा आफ्नै इच्छाले दुःख गरेर पढ्थे। आजभोलि आमाबुबाले छोरीलाई नर्स बनाउँछु भनेर पढाउछन्, त्यसैले मिहिनेत गर्दैनन्। आमा बुबाले दुःख गरेर पढाएका छन् मैले पनि दुःख गर्नुपर्छ भन्ने भावनै छैन। अहिले जागिर पाउनमात्र अथवा विदेश जानका लागि मात्र पढ्ने जस्तो गर्छन्। 

काम गर्दै जाँदा सानोतिनो गल्ती त सबैबाट हुन्छ। तर केही नर्सहरु विभिन्न बहाना बनाएर अस्पताल नै आउनु नपरेजस्तो गर्छन्। आफू बिरामी भएको, परिवारका सदस्य बिरामी परेको, जाम परेको जस्ता बहाना बनाउँछन्। त्यसैले मिहिनेत गर्नुपर्छ भन्ने भावनाको कमी छ।

विभिन्न खालका बिरामी पनि देखेकी छु मैले। मान्छेपिच्छे फरक धारणाका बिरामी हुन्छन्। कोही बिरामी नर्ससँग जस्तो डाक्टरसँग खुलेर कुरा गर्न सक्दैनन्। डाक्टर जाँचेर गएपछि नर्ससँग कराउन थाल्छन्। सायद आफ्नो परिवारजस्तै २४ आँै घण्टा सँगै बस्ने भएर पनि होला। 

एक बिरामी हुनुहुन्थ्यो सधैं जे भए पनि स्टार हस्पिटल आउने। उहाँले मलाई ‘तपाईं त धर्ती माता हो’ भनेर माया–सद्भाव व्यक्त गर्नुहुन्थ्यो। म एकछिन कतै गएपनि सोधीखोजी गर्नुहुन्थ्यो। पोलिना मेरी छोरी हो भनेर अंगालो मार्नुहुन्थ्यो  म कतै गएपनि मेरो स्टाफलाई पोलिनालाई नै पठाइदिनु भनेर आग्रह गर्नुहुन्थ्यो। अहिले उहाँको मृत्यु भैसक्यो। उहाँको मृत्यु हुँदा सारै नराम्रो लाग्यो । आफ्नै परिवारका सदस्य गुमाएजस्तो अनुभूति भयो। 

कुनै बिरामी लामो समयसम्म अस्पतालमा बसे भने छिटो निको होस्जस्तो लाग्छ। मैले हाँसी–हाँसी कुरा गरेको, व्यवहार गरेको मन पराइदिनुहुन्छ बिरामीहरु। हुन त म सबै बिरामीलाई राम्रो गर्ने प्रयास गर्छु। तर सबैको मन बुझाउन सकिदैन। कसैले गाली पनि गर्छन्, कसैले माया गर्छन् । तर पनि आफूलाई सक्दो बिरामीको सेवामा समर्पण गरिनै रहेको छु।

नर्सले डाक्टर र बिरामीबीचमा पुलको काम गर्छन्।  डाक्टरले भनेको कुरा बिरामीलाई बुझाउनुपर्छ। कसैले मायाले सम्झाए पनि मान्नुहुन्छ। कसैले चाहिँ झन् गाली गर्नुहुन्छ। त्यस्ता बिरामीलाई अलि कडा भएर बुझाउनुपर्ने हुन्छ। यो पेसामा कहिले माया पाइन्छ भने कहिले गाली। नर्सिङ पढेर मलाई कहिल्यै पछुतो लागेन। घरपरिवार र अस्पतालको सहयोगले यहाँसम्म पुग्न सफल भएको छु।

सुरुमा दुःख गरेरै काम गरें। धरानमा काम गर्दा राती ड्युटी पथ्र्यो। त्यो बेला मेरो जेठो छोरा सानो थियो। छोडेर ड्युटी जादाँ रातभर सुत्दैनथ्यो। त्यसैले सँगै लिएर जान्थें। काम गर्ने स्टेसनको पछाडि एउटा कोठा थियो। त्यहीँ बच्चा सुताएर बिरामीको सेवामा जान्थें। कहिलेकाही परिवारलाई समय दिन नपाउँदा भने साह्रै दुःख लाग्छ। अरु देशमा नर्सलाई सम्मान गर्छन्। तर हाम्रो देशमा त्यस्तो छैन। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने