जुम्लाका १९ वटा वडा स्वास्थ्यचौकी विहिन छन । एक नगरपालिका सहित ७ वटा गाउँपालिकाका ६० वटा वडा मध्ये १९ वटा वडा स्वास्थ्य चौकीविहीन छन । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार जिल्लामा रहेका ८ वटा स्थानीय तहका १९ वडा स्वास्थ्य चौकीविहीन रहेको पाइएको हो । स्वास्थ्यचौकी नहुदा अर्कै वडामा गएर उपचार सेवा लिनु परेको स्थानीयले गुनासो गरेका छन ।
जुम्लामा एक प्राथमिक स्वास्थ्य केन्द्रसहित ३० वटा मात्र स्वास्थ्य संस्था छन । जिल्लाको चन्दननाथ नगरपालिकामा १० वटा वडामध्ये ३ वडामा मात्र स्वास्थ्य चौकी छन् । त्यसैगरी गुठीचौर गाउँपालिकाको पाँच वडा मध्ये ३ वडामा स्वास्थ्य चौकी रहेका छन् भने अन्य दुई वडा स्वास्थ्य चौकी विहिन रहेका छन् । भएका स्वास्थ्य चौकीबाट पनि प्रभावकारी सेवा नहुने भएकाले प्रयाजसो बिरामीहरु उपचारका लागि महंगो रकम खर्चेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला बाहिर गएर उपचार गराउने गरेका छन् ।
सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना वुनेको छ । तर जुम्लाका वडामा स्वास्थ्यचौकी समेत नहुँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
‘मेरो वडामा न वडा कार्यालय, न त स्वास्थ्य चौकी नै छ, यहाँका स्थानीय नागरिक घण्टौँ हिँडेर पुरानै गाविसको कार्यालय र स्वास्थ्य चौकीबाटै सेवा लिन बाध्य छन्,’ पातारासी गाउँपालिका वडा ७ का वडाध्यक्ष लालबहादुर बुढाले भने ‘यहाँका नागरिकलाई स्वास्थ्यका हिसावले संघीयताकोे अनुभुति भएको छैन ।’
जिल्लाका सबै वडामा स्वास्थ्य चौकी नहुँदा गर्भवती जाँच तथा प्रसूति सेवा लिने महिलालाई थप समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिस नेपालीेले बताए । उनका अनुसार तिला गाउँपालिकाका ९ वडा मध्ये सामुदायीक स्वास्थ्य इकाई र स्वास्थ्य चौकी गरी ८ वटा छन् तर भौगोलिक विकटताका कारण गर्भवती महिला, वालवालिका र बृद्धहरुका लागि स्वास्थ्य चौकीमा पुग्न निकै समय लाग्छ । सबै वडामा सडक पुगेको छैन, सवारी साधनको पहुँच नभएकाले समस्या छ ।
जिल्लामा २९ वटा स्वास्थ्य चौकी, एक प्रथामकि स्वास्थ्य केन्द्र, १० वटा सामुदायिक स्वास्थ्य इकाई र १ सहरी स्वास्थ्य इकाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
एउटै वडामा तिनवटा स्वास्थ्य संस्था
जिल्लाका १९ वडामा स्वास्थ्यचौकी नभएको वेला तिला गाउँपालिका वडा ९ मा भने तीन वटा स्वास्थ्य संस्था स्थापना भएका छन् । तिला ९ को रासामालापानी, ढिपु र खा्ेप्रीमा स्वास्थ्य संस्था छन । रासामालापानीमा स्वास्थ्यचौकी छ, भने, ढिपु र खोप्रीमा सामुदायीक स्वास्थ्य ईकाई मार्फत स्वास्थ्य सेवा उपलव्ध भईरहेको छ । जिल्लाको सवै भन्दा दुर्गम क्षेत्र भएकोले सवैको ध्यान वडा नम्वर ९ मा पुगेको स्थानीय वताउँछन । तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेपाली राजनैतिक चलखेलले तिन वडा स्वास्थ्य संस्था ९ नम्वर वडामा परेका हुन ।