विचार/ब्लग

कविता : दुई भिन्न संसार

 विशद दाहाल

त्यो संसारमा के भइरहेछ
म यो संसारको एउटा कुनामा 
बसेर सब थाहा पाइरहेछु।
त्यहाँका हाँसो/रोदन
सब मेरा कानमा गुन्जन्छन्।
त्यहाँका खुसी/पीडा 
सब मेरा आँखैअगाडि नाच्छन्।
अनि त्यो संसारको अवस्थाले
यो संसारको व्यस्तता निर्धारण गर्छ।

 

जब खुसीले झुम्दछ त्यो संसार
हाँसोका खित्काहरु छुट्छन् 
तब, यो संसार रित्तो/रित्तो हुँदै जान्छ
अनि रित्तिएको यो संसारका भित्तोहरुमा
ती हाँसोहरु जोडजोडले गुन्जन्छन्। 
तब एक भुल्को हाँसो 
मेरो दिलमा पनि फुट्छ।

 

तर त्यो संसार अचेल
उत्तिसारो हाँस्दैन
बिचरो मुर्झाएको छ
छट्पटाइरहेको छ।

 

जब यो संसारमा
तल हेर्नुस् भन्दै
पहेँलिएका आँखाहरु जाँचिन्छन्
लामो/लामो सास फेर्नुस् भन्दै 
सुन्निएका पेटहरु छामिन्छन्
तब म बुझ्छु 
कि त्यो संसारमा 
अनेकन भट्टीहरुले
मालामाल व्यापार गर्दै छन्।

 

जब यो संसारका भुइँहरु
रक्ताम्य बन्छ्न्
टुटेका खुट्टा र हातहरुमा प्लास्टर लाग्छ्न्
फुटेका टाउकोहरुमा सियो/धागो दौडन्छ्न्
तब म बुझ्छु 
कि त्यो संसारमा 
दिनदहाडै ट्राफिक नियमको
धज्जी उडिरहेको छ।

 

जब यो संसारका
भुइँ अनि बरन्डाहरुसमेत
भरिभराउ बन्छन्
जताततै सलाइनका
बोतलहरु टाँगिन्छन्
तब म बुझ्छु कि
त्यो संसारका मानिस
अशिक्षाको लेदो मिसिएको
पानी पिइरहेका छन् 
गरिबिको ढल
तिनका बस्तीमा फुटेको छ।

 

हरेक साता त्यो संसारमा
गुड फ्राइडे आउँछ
र त्यही गुड फ्राइडेले 
यो संसारसम्म ल्याइपुर्या उँछ
अग्ला हिलले थाम्न नसकेर
मर्काएका खुट्टाहरु
खुकुरी र खुँडाले 
चर्काएका टाउकाहरु
अनि कोकेन र हिरोइनका नसाले 
सर्काएका रगतहरु।

 

अफसोस् गरिबका गुड फ्राइडे हुँदैनन् 
तर ती पनि 
बिना चेत यो संसारसम्म आइपुग्छ्न्।
जब सबेरै ओखलढुंगा 
रामेछाप र दोलखाबाट छुटेका सुमोहरु
साँझसम्म पनि यहाँ आइपुग्दैनन् नि
तब तिनले बोकेका
सुत्केरी र एपेन्डिक्सका 
इसिजीहरु सिधा/सम्म भइसकेका हुन्छन्।
यदि, 
तिनले हिँड्ने बाटो
त्यस्तै सम्म हुँदो हो त
यहाँसम्म आइपुग्दा ती इसिजीमा
केही खाल्डाखुल्डी बाँकी नै रहने थिए।

 

कहिलेकाहीँ यो संसार 
बडो उदेकलाग्दो बन्छ।
जताततै टोलाइरहने 
कलिला बहिनीहरु देख्छु
छिनमै बर्बराउने, छिनमै मुर्छा पर्ने
आमा/हजुरामाहरु भेट्छु
पूरै जलेर धुँवाइरहेका
दिदीका शरीर छाम्छु
तब 
दुष्ट त्यो समाजलाई
एक भाइल फुल 
मानवताको इन्जेक्सन लगाइदिन मन लाग्छ।

 

समाजले पिलाएको विष 
कहाँ त्यति सजिलै निस्क्रिय हुन्छ र?
नाकबाट पाइप जोडिन्छ्न्
बिस्तार-बिस्तार 
पेटका बिकारहरु छदाइन्छ्न्
त्यतिले नभएर
हजारौं हजारका ओखती
नसाबाट दौडाइन्छ्न्
आखिरमा आमाले छोरालाई
श्रीमान्‌ले श्रीमतीलाई 
एम्बु ब्याग थिचेर 
केहीबेर बचाइरहन्छ्न्
हो मात्र केहिबेर।

 

हरेकदिन यसरी नै
यो संसारमा 
भरिएका बेडहरुले 
छरिएका सुइहरुले 
निचोरिएका औषधिहरुले
कराइरहेका भेन्टिलेटरहरुले 
छट्पटाइरहेका मानिसहरुले 
त्यो संसारमा घटिरहेको 
हरएक घटना बताइरहेछन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने