बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि बहिरंग(ओपिडी) सेवा सुरु गर्ने भएको छ।
ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ।
अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको जानकारी दिए।
सरकारबाट १ सय शय्याको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शय्याबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म ३५ करोड रुपैयाँ खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ। रासस