विचार/ब्लग

वैदेशिक रोजगारीमा जानेलाई ‘अकुपेसनल सेफ्टी र हेल्थ’का विषयमा जानकारी गराउनुपर्छ : डा केदार बराल

हामी अघिल्लो वर्ष मलेसियामा नेपालीहरुको ‘सडेन डेथ’ हुने विषयमा अध्ययन गर्न गएका थियौं। जुन व्यक्तिको ‘सडेन डेथ’ भनिएको थियो, उनी त पहिल्यैदेखि बिरामी रहेछन्। अरुको नजरमा उनको मृत्यु एक्कासी  भएको देखिए पनि उनी आफैंलाई बिरामी रहेको थाहा थियो। धेरैको मृत्यु यसरी नै हुन्छ। किनभने नयाँ ठाउँमा आफ्ना कुरा भन्ने साथी हुँदैनन्। साथी भए पनि सुन्ने फुर्सद कसैलाई छैन। उपचारका लागि जाने ठाउँ थाहा हुँदैन। रोग पालेर बस्छन् र एकदिन त्यसैका कारण मृत्यु हुन्छ। 

वैदेशिक रोजगारीमा जानेहरुलाई स्वास्थ्य सम्बन्धी शिक्षा नदिइएकाले यस्तो समस्या भएको हो। धेरै नेपालीलाई ‘डर्टी र डेन्जर’ काममा लगाइन्छ। उनीहरु  स्वास्थ्यका हिसाबले जोखिममा हुन्छन्, मानसिक तनाव पनि उच्च हुन्छ।

वैदेशिक रोजगारीमा जान चाहिने मेडिकल जाँच पास हुनुलाई उनीहरु ‘स्वस्थता’को प्रमाणपत्र ठानिरहेका छन्। कामदारलाई ‘तिमीहरु पूर्णतया स्वस्थ होइन कि काम गर्न जान योग्य भनिएको हो’ भनेर बुझाइएको छैन। कामको प्रकृति अनुसार स्वास्थ्य सम्बन्धी समस्या आउन सक्नेबारे बुझाइएको छैन। त्यहाँको हावापानी, खानपान र तनावले हुने समस्या बताइएको छैन। 

ठूला कम्पनीले शारीरिक व्यायाम गर्ने क्षेत्र छुट्याएका हुन्छन्। तर, हामीले त्यसको महत्व बुझाइदिएका छैनौं। धेरैले १२ घन्टा काम गर्छन्। क्याटरिङको खाना खान्छन् र होस्टेलमा सुत्छन्। मदिरापान पनि तनावका कारण नियमित जस्तो नै गरिरहेका हुन्छन्। 

धेरै नेपाली त्यहाँ ‘भुँडे’ देखिएका छन्। युवा अवस्थामा नेपालबाट गएका कति त बुढेकाशकालमा प्रवेश गरिसके। कतिले १५ वर्षदेखि काम गरिरहेका छन्। उनीहरुमा रक्तचाप, मधुमेह र हड्डी खिइने जस्ता समस्या आइसकेका छन्। 

हामीले ‘अकुपेसनल हेल्थ’बारे केही बताएकै छैनौं। उच्च तापक्रममा काम गरिरहेका हुन्छन् तर पानी खाइरहनुपर्छ भन्नेसम्म थाहा हुँदैन। त्यसैले हामीले ‘अकुपेसनल सेफ्टी र हेल्थ’का विषयमा जानकारी गराउनुपर्छ। 

घरबार छाडेर काममा खटिइरहेका छन्। स्वभाविक रुपमा मानसिक तनाव उच्च हुन्छ। त्यसैले अब नेपाल सरकारले गम्भीर रुपमा सोच्नुपर्छ। नेपालको एक जिल्ला बराबरको जनसंख्या भएको ठाउँमा दुई–चार जना स्वास्थ्यकर्मी र समस्या पर्दा भन्ने एउटा निःशुल्क टेलिफोनको व्यवस्थासम्म गर्न सकियो भने पनि राम्रो हुन्छ। 

अब देश भुगोल मात्रै होइन, जहाँ आफ्ना नागरिक छन्, त्यो पनि देश हो। त्यसैले कि आफैंले व्यवस्था गर्न सक्नुपर्छ, नभए रोजगारदाता देश र कम्पनीलाई मानवीय संवेदनासहितको स्वास्थ्य सेवाका लागि पहल गर्नुपर्छ। अस्वस्थ व्यक्तिहरु काममा हुँदा उत्पादकत्व त उनीहरुको पनि घटिरहेको छ। त्यसैले यस विषयमा उनीहरुलाई सम्झाउने हो भने समस्याको समाधान सहजै गर्न सकिन्छ।

 


वैदेशिक रोजगारमा जानेको स्वास्थ्य : जाँदा स्वस्थ, फर्कंदा रोगी !

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live