विचार/ब्लग

हतारमा हामी, कतै मानसिक समस्यालाई निम्तो दिइरहेका त छैनौं ?

 इरु पौडेल

अस्पतालको बैठक चलिरहेको थियो । यही क्रममा  एकजना डाक्टर साहेबले मननीय कुरा उठाउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामी नेपालीहरु अचम्मको व्यवहार विकास भइरहेको छ  । हामी हतारको जिन्दगी जिइरहेका छौं।हामी अस्पतालमा जचाउँन आउँछौं । समस्या जटिल हुँदा भर्ना हुन्छौं । भर्ना भयो, अप्रेशन गराउन हतार ।  अप्रेशन भयो, घर जानै हतार । हामी कुनै कार्यक्रममा जान्छाौं, घर फर्कन हतार । हामी कतै स्थिर भएर अडिन सक्दैनौं।’

घत पर्‍यो डाक्टरसाहेबको कुरा । साँच्चिकै यस्तै हतार र तनावपूर्ण जीवनशैली छ अचेल हाम्रो । शाररिक रुपमा तन्दुरुस्त त हामी हुनैपर्‍यो । तर के हामीले हाम्रो मानसिक स्वास्थ्यको बारेमा सोचेका छौँ ? मानसिक स्वास्थ्यप्रति हामी अझै सचेत छौं भन्ने कुरामा म विश्वस्त छैन । मानसिक स्वास्थ्य विग्रनु वा मानसिक रोग लाग्नु भनेको बौलाउनु वा पागल हुनु हो भनेर बुझ्ने ठूलै जमात अझै हाम्रो समाजमा । यो जमातमा  पढेलेखेका, बुझ्ने र सम्पन्न  मानिसहरु पनि समाहित छन्।

के हामीले मानसिक स्वास्थ्य भन्ने कुरा बुझेको छौँ ? मानसिक स्वास्थ्य ठिक नहुनु भन्नु आलोचना गर्नेे विषय होइन । यो जसलाई पनि हुन सक्छ । यसको समाधानको थुप्रै उपायहरु छन् । हामीलाई सहयोग गर्न काउन्सिलर, पारामेडिक्स, साइक्याट्रिक नर्स, साइक्याट्रिस्ट आदि तयार छन् ।  तर हामीले मद्दत लिन हिच्किचायौँ भने धेरै ढिलो हुन गइ ठूलो क्षति हुन जाने सम्भावना हुन्छ । किनकी मानसिक रोगबाट विभिन्न अनेक समस्याहरु उत्पन्न हुन सक्छन्।

कुनै बच्चा हाइपर एक्टिभ छ । कुनै केटाकेटी अत्यधिक रिसाउँछन् वा काल्पिनक कुरा बढी गर्छन् । कोही एक्लै बस्न बढी रुचाउँछन् ।झोक्राएर बस्छन् । कुनै केटी मेन्सुरेसन सँगै आएको परिवर्तनसँग ग्रसित छिन् । कोही श्रीमान श्रीमतीसँग नजिकिन सक्दैनन् । कुनै कर्मचारी कार्यक्षेत्रमा बोल्न डराउँछन वा आफ्नो बारेमा मात्र बोल्न रुचाउँछन् । कुनै व्यक्ति केही सामान वा कुनै एउटै क्रियाकलापमा अति एकोहोरो भई लाग्छन् । कोही ५० कटेका महिला मेनोपोजको हिट फ्लसबाट तड्पेकी छिन् । कोही बृद्ध एक्लोपनको शिकार छन् । यस्ता विभिन्न समस्या मानसिक स्वास्थ्यका विषय अन्तर्गत पर्छन्।

एडजस्टमेन्ट डिसअर्डर, प्रिनाटल डिप्रेशन, ब्रेकअप, किशोरावस्थाका समस्या, डिप्रेशन र कामको तनाव जस्ता सामान्य लाग्ने समस्याहको समयमै उपचार पाइएन भने असाधारण रुप लिन सक्ने अत्याधिक सम्भावना हुन्छ । मानसिक स्वास्थ्यका एक/दुईवटा होइन, धेरै समस्याहरु हुन्छन्। जुन समयमै उपचार गर्न सकिएन भने भयावह रुप लिन सक्छ।

गत बर्ष विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्यलाई ध्यानमा राखी ‘डिप्रेशन लेट्स टल्क' अभियान चलाएको थियो । एउटा कार्यक्षेत्रमा कर्मचारीले आफ्नो समस्या खुल्ला रुममा राख्ने ठाउँ हुनु आवश्यक छ । अहिले कामको तनावले पनि भयावह रुप लिरहेको पाइन्छ ।  कायक्षमता उच्च राख्न कर्मचारीको समस्या सुन्ने र समाधान खोज्ने वातावरण संस्थाले बनाउनुपर्छ। यसको लागि हरेक संघसंस्थामा कर्मचारीलाई परामर्श सेवाको लागि काउन्सिलरको आवश्यकता देखिन गएको पाइन्छ।

यही सन्दर्भमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । एक जना ख्यातीप्राप्त मानसिक रोग विशेषज्ञ समक्ष आएको एउटा ‘केस'को विवरण उहाँले बाँडनु भएको थियो । एक जना ३० बर्ष जतिको सम्पन्न शिक्षित परिवारको युवा जो आँखा जुधाएर बोल्दैन, स्थिर रहँदैन, हरदम उसको अनुहारमा रिस देखिन्छ । पहिलोपटक मानसिक रोग विशेषज्ञ समक्ष आइपुग्दा विशेषज्ञ आफै नै चकित पर्ने अवस्था भएको थियो । त्यो युवाको जीवनमा पटक–पटक उद्देश्य फेररिरहेको पाइयो । उसले दुईपटक डाक्टरी पढ्न गएर छोडेको, एक पटक म्यानेजमेन्टको पढाई पनि पढ्न गएर छोडेको देखिन्छ । मोटामोटी ऊ १८/२० बर्षको उमेर देखि नै मानसिक समस्याबाट ग्रसित भएको देखिन्छ । उसलाई समयमै उपचारको लागि ल्याइएको भए आज ऊ सफल र स्वस्थ  भइसक्थ्यो । तर यस्तो भएको १०/१२ बर्षपछि ल्याइयो । समस्या निकै बल्झिसकेपछि उसलाई विशेषज्ञ कहाँ ल्याइएको छ । विशेषज्ञ डाक्टरलाई समस्या बल्झिसकेका कारण उपचार र निदान चुनौती देखियो । एउटा शिक्षित र बुझ्न सक्ने परिवारले पनि मानसिक समस्यालाई समयमै पहिचान गर्न नसक्दा त्यो कुनै किसिमको लत नभएको युवाको भविष्य अन्योलमा पुगेकोछ तर अझै पनि विशेषज्ञ डाक्टर आशावादी नै हुने सल्लाह दिइरहेका छन्।

मानसिक समस्याको समयमा पहिचान नहुँदा, समाजले के भन्ला भन्ने डरलगायतका कारण कति मानसिक रोगी अहिले पनि उपचारबाट बञ्चित छन् ।

शाररिक स्वास्थ्य ठिक नहुँदा वा बिरामी हुँदा बिरामीको राम्रोसँग हेरचाह गरिन्छ, आराम गर्न लगायन्छ, स्याहारसुसार गरिन्छ, समय समयमा औषधी खुवाउइन्छ, बेलाबेलामा उसको चाहना अनुसार खाना, सुप, जुस दिइन्छ । हो, यस्तैगरी हामीले मानसिक स्वास्थ्य ठिक नहुँदा पनि ध्यान पुर्‍याउनु पर्छ । यस्ता रोगीसँग कुरा गरौँ, समस्या सुनौँ, आलोचनात्मक भएर लान्छना नलगाऔँ । यती बुझौँ, औषधीको साथै हाम्रो बोली, व्यवहार, स्याहारसुसारले मानसिक रोगीलाई चाँडै निको हुन सहयोग पुर्‍याउँछ । हामी सबै जागरुक  हुँदै मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर सहयोगको हात बढाऔँ । कुनै पनि किसिमको मानसिक समस्याको शंका हुनासाथ विशेषज्ञको सल्लाह लिन  ढिलो नगरौँ ।

एक कदम अगाडि बढौँ, मानसिक रोगलाई बुझौँ र समस्या बाडौँ ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने