जीवनशैली

विश्वकप हेरेपछि क्रिकेट छाडेर फुटबल खेल्न थालेका छातिरोग विशेषज्ञ डा पौडेल


स्याङजामा जन्मिएका छातीरोग विशेषज्ञ डा प्रकाश पौडेलको बाल्यकाल भने चितवन, भैरहवा, विराटनगरमा बित्यो। सरकारी जागिरे बुवाको सरुवासँगै उनको सरुवा हुन्थ्यो। 

तराईमा हुर्केका भएकाले उनलाई क्रिकेटको माहोलले छोप्यो।  उनी भन्छन्, ‘भैरहवामा त सवैको प्रिय खेल क्रिकेट थियो। सवै क्रिकेट खेल्थे। त्यसैले म पनि क्रिकेट नै खेल्न थालें।’  १० वर्षको उमेरसम्म उनलाई खेल भनेकै क्रिकेट जस्तो लाग्थ्यो। उनी साथीहरुसँग बुवाको अफिसअघिको ठूलो चौरमा क्रिकेट खेल्थे।  

उनी उमेरले १० वर्षका हुँदाहुन्। १९८६ को विश्वकपको माहोलले उनका दाईसाथीहरुलाई छोप्यो। उनीहरुकै लहलहैमा फुटबल हेर्न थाले। जताततै अर्जेन्टेनी फुटबलर म्यारोडोनाको चर्चा थियो। टिभीमा उनकै खेलकौशल नियालेर हेरे। म्याराडोनाले हानेको गोलले उनलाई फुटबलप्रति रुची जगायो। 

उनलाई पनि म्यारोडोनाको जस्तै फुटबल खेल्ने रहरले गाँज्न थाल्यो । खेल्न रहर भएपनि उनीसँग फुटबल भने थिएन।  उनी क्रिकेट नै खेल्न थाले। पुरानो क्रिकेट बल खेलिरहेको देखेपछि उनका साथीका बुवाले नयाँ किनिदिने प्रस्ताव गरे। उनले क्रिकेट होइन, फुटबल किनिदिन आग्रह गरे।  त्यपछि उनले फुटबल पाए। भोलिपल्टदेखि नै उनी फुटबल खेल्न थाले।  फुटबल  खेल्न जानेपछि उनी स्कुलमा पनि फुटबल खेल्न सुरु गरे। त्यसपछि उनको फुटबल प्रेम यसरी झांगियो कि फुर्सद  हुनासाथ साथीभाई जम्मा गरेर फुटबल खेल्न गइहाल्थे। 

कक्षा ५ सम्म भैरहवामा पढेपछि उनका बुवाको सरुवा विराटनगरमा भयो। त्यहाँ उनी पढ्ने स्कुलमा  ठूलो चौर थियो। त्यसैले पढाइका अतिरिक्त उनले फुटबल खेल्न सुरु गरे। इन्टर स्कुल प्रतियोगितामा भाग लिन थाले र केही प्रतियोगिता उनको टिमले जितेको पनि थियो। 

उनको बुवाको सरुवा चितवनमा भयो। फुटबल खेल्न त्यहाँ पनि छाडेनन्।  एसएलसीसम्म उनले धेरै नै खेले फुटबल। त्यसपछि भने पढाइमा बढी लाग्नुप¥यो र उनीबाट फुटबल केही समय छुट्यो। 

सन् २००२ मा काठमाडौं मेडिकल कलेजमा  एबिबिएस पढ्दै थिए। विश्वकप सुरु भइहाल्यो। फुटबल हेर्नका साथै खेल्न समेत तम्सिए उनका साथीहरु। फुटबल खेल्न रहर दबाएर बसेका उनी किन पछि पर्थे। फेरि फुटबल खेल्न थाले। 

पढाइपछि मेडिकल अफिसर भएर काम गर्दा भने इन्टर हस्पिटल प्रतियोतामा  समेत सहभागी भएर उनले फुटबल खेले। चीनमा विशेषज्ञता पढ्दा विश्वविद्यालयको आफ्नै फुटबल स्टेडियम थियो।  बेलुकाको समयमा सधैँ फुटबल खेल्ने मौका मिल्यो उनलाई। त्यहाँका स्थानीय क्लबसँग समेत फुटबल खेले उनले। अचेल भने व्यस्तताले फुटबल ग्राउन्डमा खेल्न पाएका छैनन्। तर, फुटबलको प्यास फुटसल खेलेर मेटिरहेकै छन्। जर्सीप्रति उनको मोह छ। त्यसैले बेलाबखत जर्सी लगाएर हिँड्छन्। 

१९८६ बाट हालसम्म उनी अर्जेन्टिनाको समर्थक हुन्।  आफू मात्र होइनन्, परिवारका अन्य सदस्यलाई पनि अर्जेन्टिनाकै समर्थक बन्न प्रेरित गरेका छन्। उनको  २२ जनाको परिवारमा १९ जना अर्जेन्टिनाका समर्थक छन्। 

पहिले–पहिले विश्वकप हेर्न उनी फिल्महल पुग्थे। तर, अचेल घरमै हेर्छन्। परिवारमै फुटबल हेर्न माहोल बनेका कारण उनी बाहिर निस्किदैनन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने