मुख्य समाचार

प्रचण्ड-पत्नी सीतालाई लागेको ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोग के हो?


काठमाडौं- पत्नी सीताको उपचारपछि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन्। सीताको सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालमा उपचार भएको हो।

अस्पतालमा उपचारका क्रममा सीतालार्इ प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) प्रमाणित भएको छ। सिंगापुरमा १३ दिनको बसाइका क्रममा रोगको पहिचान र उपचारपछि सीताको स्वास्थ्य स्थितिमा राम्रो सुधार आएपछि उनीहरु स्वदेश फर्किएका हुन्।

प्रचण्डको आधिकारिक वेबसाइटले समेत सीताको रोगबारे जानकारी दिएको छ। 'उहाँलाई (सीता) प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्। तीन महिनासम्मको वाटर थेरापी र औषधि सेवनपछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाइ रहेको छ। रोगको पहिचान भएको र निदान हुने कुराले उहाँ र उहाँको परिवारमा आशा जगाएको छ। विभिन्न स्थानमा गरिएको परिक्षणमा रोगको ठोस पहिचान हुन सकेको थिएन,' साइटले उल्लेख गरेको छ।

स्वास्थ्यखबरले सोही आधारमा सीतालार्इ लागेको रोगका विषयमा नेपालका चिकित्सकहरुसँग जानकारी लिएको छ। नेपालका स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। 

मस्तिष्कका विभिन्न रोग तथा समस्याहरु मध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।

ग्रान्डी अस्पतालका कन्सलट्यान्ट न्युरोलोजिष्ट डा राजु पौडेलका अनुसार सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो। 

‘रोग लाग्दाको सुरुवाती लक्षणमा पार्किन्सन्स, अलजाइमर्स, मोटर न्यूरोन जस्ता रोगको लक्षणसँग मेल खाने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत झुक्किने गर्दछन्। जसले गर्दा पिएसपीको गलत ‘डाइग्नोसिस’ हुँदा औषधि तथा उपचारसमेत पार्किन्सन्स वा अन्य समस्याको हुने गर्छ,’ उनले भने।

डा पौडेलका अनुसार पिएसपीमा पार्किन्ससन्सको औषधि दिँदा बिरामीलाई झन् साइड इफेक्ट हुन सक्छ। त्यसकारण बिरामीको मस्तिष्कको राम्रोसँग सिटी स्क्यान, एमआरआई वा अन्य आवश्यक परीक्षणपछि मात्र बिरामीलाई आवश्यक औषधिहरु दिनु पर्दछ।

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन। तर, उपचारमा आउने बिरामीको संख्या भने बिस्तारै बढ्दै गइरहेको उनले जानकारी दिए। सामान्यतया यो रोग वृद्धावस्थामा लाग्ने गर्दछ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कको नसाहरु बिस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पिएसपी हो। 

विशेषगरी यो रोग लागेपछि मानिसको शारीरिक सन्तुलन बिग्रन्छ, आँखाको दृष्टिमा असर गर्छ, बोली अस्पष्ट हुन्छ भने खानेकुरा निल्नसमेत समस्या हुने डा पौडेलले बताए। 

‘मस्तिष्कमा भएको स्नायुकोषले डोपामाइन नामक महत्वपूर्ण रसायन उत्पादन गर्ने गर्छ। यसले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाई शरीरका विभिन्न भागका मांसपेशीको गति नियन्त्रण गर्ने काम गर्छ,’ उनले भने, ‘साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशन अनुसार मांसपेशीको गतिमा नियन्त्रण भई शरीरका विभिन्न अंगले सन्तुलित कार्य गर्न सक्छन्। तर पिएसपी भएपछि डोपामिन उत्पादन नै बन्द हुन्छ र मस्तिष्कको उक्त ठाउँ बिस्तारै सुक्दै जान्छ। यसरी स्नायुकोष निस्क्रिय हुँदै जान्छ।’

स्नायु रोग विशेषज्ञ डाक्टरहरुको विश्व संगठन ‘वर्ल्ड फेडेरेसन अफ न्युरोलोजी’का अनुसार पिएसपीको सुरुवाती अवस्थामा बिर्सन थाल्ने, सन्तुलन बिग्रने, अनावश्यक रुपमा लड्ने, विशेषगरी पछाडिपट्टि लड्ने लक्षण हुन्छ। यस्तै शरीर अररो भई आँखा दृष्टिमा असर गर्छ। आँखाको नानी दायाँबायाँ मात्र सर्ने र हेर्न मिल्ने हुन्छ तर तल र माथि हेर्न सकिँदैन। चम्किलो उज्यालोमा हेर्न मन नलाग्ने हुन्छ। तर, पार्किन्सन्समा तलमाथि पनि हेर्न सकिन्छ। 

पिएसपी र पार्किन्सस छुट्याउने सबैभन्दा मुख्य आधार आँखाको हेराइ पनि हो। तलमाथि हेर्न नसक्ने समस्या छ भने त्यो पिएसपी भनेर बुझ्न सकिन्छ। पिएसपीमा सुस्तपना आउने, काम्ने, शरीर कडा हुने र हिँडडुल गर्न समस्या पनि हुन्छ। शरीर हुत्तिएको जस्तो गरी हिँड्ने खालको लक्षण हुन्छ। शरीर अरठ्ठो भएर आउने, घाँटीसमेत अररो हुने, बोली नबुझिने हुन्छ। हिँड्दा मान्छे ड्याङ्ग पछाडिपट्टि लड्ने गर्दछन्। केही मानिसहरुमा डिप्रेसन, उदासीपन, निराशासमेत पैदा हुन्छ। 

यो रोग पूर्ण रुपमा निको हुँदैन । यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ । यसका साथै आवश्यकता अनुसार फिजियोथेरापीसमेत गर्नुपर्ने हुन्छ।

पार्किन्सनमा औषधिले राम्रो काम गर्छ। विशेषगरी पार्किन्सन्सको औषधिले ८/९ वर्षसम्म काम गर्छ तर पिएसपीमा एक-दुई वर्षसम्म मात्र औषधिले काम गर्छ। पिएसपी भएका मानिसहरुको हेरचाह र आत्मबलका आधारमा बिरामीको आयु लम्बिने हुन्छ। पिएसपी भएकालाई उचित हेरचाह नगर्ने हो भने लडेर टाउको तथा अन्य भागमा ठोक्किने खतरा भने अत्यधिक रहन्छ। खानेकुरा निल्न समस्या हुने हुँदा सर्केर ज्यान जाने खतरा पनि हुन्छ। त्यसकारण खाना खुवाँउदा विशेष ध्यान दिन आवश्यक हुन्छ।

सुरुवाती लक्षणमा नै उचित उपचार गर्ने र हेरचाह राम्रो हुने हो भने बिरामीलाई लामो समयसम्म सहज वातावरणमा राख्न सकिन्छ। विशेषगरी लडेर चोटपटक नलागोस भन्नका लागि भुइँ तथा भित्तामा म्याट्रेस वा चोटपटक नलाग्ने वस्तुहरु राख्नुपर्छ। शौचालयलाई चिप्लो बनाउनु हुँदैन। सबैभन्दा राम्रो त बिरामीसँग एक वा अन्य कोही मानिस बसिरहनुपर्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने