डक्टर्स आर्टिकल

किन हुन्छ मुटुको चाल गडबडी? लक्षण र उपचार

 डा मनबहादुर केसी

मानिसको मुटुको चाल सामान्य अवस्थामा एक मिनेटमा ५० देखि १०० पटकसम्म धड्कन्छ। मुटुको नियमित धड्कनलाई ‘साइनस रिदम’ भनिन्छ। तर ५० भन्दा कम वा १०० भन्दा बढी चाल भयो भने समस्या निम्तन्छ। 

नियमितभन्दा कम या बढीपटक धड् कियो र बिरामीलाई गाह्रो भयो भने हामी त्यसलाई मुटुको चालको गडबडी भन्छौँ। र, यो गडबडी सजिलै थाहा हुन्छ। समयमै उपचार गर्ने हो भने ठूलो समस्या भोग्नुपर्दैन। मुटुको चाल छिटो या ढिलो हुँदा गंगालालमा छुट्टाछुट्टै पद्धति प्रयोग गरेर उपचार गरिन्छ। यसका लागि थ्रीडी म्यापिङमार्फत् जटील खालका रोगीलाई निदान तथा उपचार गर्न सुरु गरिसकेका छौँ। 

मुटुको चाल बढाउन सामान्यता औषधि छैन। भएका औषधि पनि त्यति प्रभावकारी छैनन्। त्यसैले मुटुको चाल ढिलो भएको छ भने पेसमेकर राख्ने गरिन्छ। यस्तो भए मानिस बेहोस हुने, रिंगटा लाग्ने र अन्त्यमा मृत्यु पनि हुन्छ। 

मुटुको चाल छिटो भएका बिरामीमा पीएसभीटी, एसभीटी, भीटी समस्या हुन्छ। मुटुको उपचार हुने कम रोगमध्ये पीएसभीटी पनि एक हो। जसलाई हामी रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट विशेष प्रकारको उपचार गछौँ। 

अलि सामान्य अवस्थामा टुडी म्यापिङ प्रयोग गरी निदान गरिन्छ भने बिरामीको अवस्था जटील खालको छ भने हामी अत्याधुनिक प्रविधि थ्रीडी म्यापिङमार्फत् रोग निदान गर्छौ। यी दुवै खालका रोगको निदान भएपछि रेडियो फ्रिक्वेन्सी एब्लेसन अत्याधुनिक प्रविधिमार्फत् उपचार गरिन्छ। नेपालमा आफ्नै जनशक्तिले उपचार गर्ने गंगालाल मात्र हो। 

जुनसुकै उमेरकालाई हुनसक्छ 
मुटुको चालमा गडबडी जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ। गंगालालमा भर्खर जन्मेका शिशुदेखि वृद्धसम्म मुटुको चालसम्बन्धी गडबडीको समस्या भएर आउनुहुन्छ। उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ। कसैलाई जन्मजात हुनसक्छ भने जन्मेपछि पनि हुनसक्छ। हृदयाघात वा अनियन्त्रित रक्तचापका कारण पनि मुटुको चालमा गडबडी हुनसक्छ। 
मुटुको चाल गडबडी भएको बिरामी आफैंलाई थाहा हुन्छ। गाह्रो महसुस हुन्छ। 

लक्षण 
– रिँगटा लाग्नसक्छ, मुटु हल्लिने हुन्छ। रिँगटाले गर्दा बेहोस हुने, छाती दुख्ने हुनसक्छ। 
यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको अस्पताल वा मुटु विशेषज्ञलाई देखाउनु पर्छ। 

गंगालाल हृदय केन्द्रमा आएका बिरामीको तथ्यांकलाई आधार मान्ने हो भने मुटुको बाथ, उच्च रक्तचाप, हृदयाघात, जन्मजात हुने मुटुको रोग, मुटुको चालसम्बन्धी गडबडी, मुटुको मांसपेशीमा लाग्ने रोग बढी देखिने रोग हुन्। करिब ९० प्रतिशत मुटु रोगको सफल उपचार नेपालमा सम्भव छ। अस्पतालमा कतिपय रोगको उपचार निःशुल्क छ। 

गंगालालमा हामी ५–६ जनाको टोलीले मुटुको चाल गडबडीसम्बन्धी उपचार गर्छौँ। गंगालालमा यस्ता बिरामीको चाप अत्याधिक छ। देशभरका बिरामी मुटुको उपचारका लागि रिफरसमेत भएर आउने भएकाले पनि चाप उच्च छ। 

मुटुको चाल गडबड हुनु आफँैमा एक रोग हो। कुनै खानपान वा जीवनशैलीले हुने रोग होइन। तर अन्य विभिन्न कारणले पनि मुटुको चाल गडबड हुनसक्छ। 

हामीले बुझ्नुपर्ने कुरा के हो भने आजकल मुटुको चाल गडबड भएका कारणले ज्यान गुमाउनुपर्ने अवस्था छैन। पहिले उपचारको सुविधा नहुँदा धेरै मानिसको ज्यान जानसक्ने स्थिति थियो। तर अहिले नेपालमा मुटुको गुणस्तरीय र प्रभावकारी उपचार सम्भव भएकाले मुटुका धेरै रोगको सफल उपचार सम्भव छ। 

त्यसैले मुटुका कुनैपनि समस्या देखिए वा महसुस भएमा समयमै जाँच गराऔं। 

(डा केसी गंगालाल हृदय केन्द्रमा कार्यरत छन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने