नेपाल चिकित्सक संघले डा गोविन्द केसीका मागप्रति एेक्यबद्धता जनाउदैँ ४ बुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
संघका महासचिव डा. लोचन कार्कीले आगामी २४ गते प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराउने, ज्ञापन पत्र बुझाएको ७२ घण्टा सम्ममा सरकारबाट सम्बोधन नभएमा विरोधका अन्य कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन्।
४ बुँदे विरोधका कार्यक्रमहरु यस प्रकारका छन् :
१) यस संघले विगतकाल देखि नै स्वामित्व ग्रहण गर्दै आएका चिकित्साशिक्षा र स्वास्थ्यसेवासँग सम्बन्धित डा. गोविन्द के.सी.ले उठान गरेका जायज मागहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै उहाँको जीवनरक्षाको माग गर्ने।
२) आजैका मिति देखि लागू हुनेगरी देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकले कालोपट्टी बाँधी स्वास्थ्य सेवा प्रवाह गर्ने।
३) २०७५ साल असार २४ गते आईतबार नेपाल चिकित्सक संघको तर्फबाट सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउने। ज्ञापन पत्र बुझाएको ७२ घण्टा सम्ममा सरकारबाट सम्बोधन नभएको खण्डमा विरोधका अन्य कार्यक्रमहरु सार्वजनिक गरिने।
४) डा. गोविन्द के.सी.को स्वास्थ्य स्थिति बुझि प्रतिवेदन पेश गर्न यस संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलाई अनसन स्थलमा पठाउने।
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीकाले संघका शाखा कार्यालयहरु, देशभरका सम्पूूर्ण स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई यस आन्दोलनमा सहभागी हुन अनुराेध गरेका छन्।