काठमाडौं- केयर नेपाल सोसाइटी नेपालकी अध्यक्ष डा सुनिता मलेकू अमात्यले बालबालिकाको स्नायु विकासमा अवरोध गर्ने अटिजम रोग नभएको बताएकी छन्। काठमाडौँमा आयोजित अटिजम सम्बन्धी अन्तर्किया कार्यक्रममा बोल्दै अमात्यले बच्चाले जन्मजात लिएर आउने एक विशेष अवस्था अटिजम रोग नभएको बताएकी हुन्।
उनले भनिन् ‘अटिजम रोग होइन यदि रोग हँुदो हो त यसको औषधि उपचार हुन्थ्यो। यो मस्तिकको एउटा विशेष अवस्था हो। कुनै मनोसामाजिक अपंगाता पनि होइन । बच्चाले जन्मजात नै लिएर आउने मस्तिष्कको एउटा अवस्था हो । जुन आमाको पेटभित्र विकासको क्रममा कुनै जिनको म्युटेसन भएको कारणले मस्तिष्कमा विशेष अवस्था गराउने र यसले गर्दा बच्चाको मस्तिष्कको विकासमा समस्या गर्ने गर्छ।’
जनचेतनाको अभावको कारणले गर्दा अटिजम पहिचान गर्न गाह्रो भएको अमात्यले बताइन्। उनले भनिन् ‘अझै पनि हाम्रो समाजमा अटिजम भएको बच्चाहरुलाई चेतनाको अभावले धामीझाँक्री लगाएको पाइन्छ ।’
बढ्दो रुपमा देखा परेको अटिजम नेपालमा भने एकीन तथ्यांक नभएपनि तीन लाख बच्चामा अटिजम भएको अनुमान गरिएको छ भने विश्वको तथ्यांक हेर्न हो भने विश्वको जनसंख्याको एकदेखि दुई प्रतिशत जनसंख्यामा अटिजम देखिने गर्छ । सेन्टर फर डिजिज कन्टोलले हरेक ५९ जना मध्य एक जनामा अटिजम हुने देखाएको छ।
छोरी भन्दा छोरामा बढी देखीने अटिजम अटिजम भएका ५ बच्चा मध्य एकजना छोरी हुने चिकित्सकहरुले बताउँछन् । चिकित्सकका अनुसार पहिलो बच्चामा अटिजमको समस्या भयो भने दोस्रो बच्चामा एकदेखि २० प्रतिशत बढी अटिजम हुने सम्भावना हुन्छ।
के हो अटिजम ?
अटिजम बच्चामा जन्मजात हुने एक विशेष प्रकारको समस्या हो । यसलाई मस्तिष्क विकासको विकार (न्युरो डेभ्लपमेन्ट डिसअर्डर) भनिन्छ । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्रायजसो जन्मेको तीनवर्ष भित्र प्रष्ट रुपमा देखिन्छ । र यो जीवनभर रहिरहन्छ । अटिजमबाट तीन पक्षमा जटिल समस्याहरु देखिन्छन् ।
१ सञ्चार बुझ्न र प्रयोग गर्न कठिनाई ।
२ सामाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाई
३ दोहोर्याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु ।
धेरैजसोले अटिजम हुनुको कारण वंशाणुगत आधार बताएपनि अझै अटिजमको हुनुको मुख्य कारण पत्ता लाग्न सकेको छैन ।
यस्ता बच्चाहरुमा आँखामा आँखा जुधाउन नसक्ने, एक्लै बस्न रुचाउने, बोलेर आफूलाई चाहिने कुराहरु व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्याउने र फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने लक्षण देखा पर्दछन्।
उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखेर व्यवाहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नु यो समस्याको समाधान हो ।