रुपन्देही- प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशलाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाइने बताएका छन्।
बुटवलमा आयोजित प्रदेशस्तरीय आयुर्वेद औषधि उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धी अन्तर्क्रियामा बोल्दै मन्त्री बरालले स्वदेशी जडिबुटी प्रयोग गरेर पहिलो चरणमा प्रदेशलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए।
'प्रदेश ५ जडिबुटीमा धनी भएकाले यसको सदुपयोग गर्नु आवश्यक छ', उनले भने, 'जडिबुटी प्रयोगले प्रदेश धनी हुन्छ, किसानको पनि आयआर्जन बढ्छ।'
मन्त्री बरालले प्रदेशमा रहेका औषधालयहरुको स्तरवृद्धि गर्दै औषधि उत्पादनमा जोड दिने सरकारको नीति रहेको बताए। एलोपेथिक औषधि जस्तै आयुर्वेद औषधि समेत बाहिरबाट किन्नुपर्ने अवस्था राम्रो पक्ष नभएको उनले बताए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले स्वास्थ्यका लागि आयुर्वेद औषधि निकै उपयोगी रहेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए।
मन्त्रालयका सचिव पुष्करराज पन्तले नेपाली कच्चा पदार्थ लगेर भारतमा उत्पादन भएको करोडौं मूल्यको औषधि नेपाल आयात हुँदै आएको छ। यो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि देशभित्रै औषधि उत्पादन थाल्ने योजना रहेको उनले बताए।
मन्त्रालयको स्वास्थ्य महाशाखाले प्रदेशमा औषधि उत्पादनको सम्भाव्यता अध्ययन थालिसकेको महाशाखा प्रमुख डा उमाशंकर चौधरीले बताए।
कार्यक्रममा लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डा रमेश केसीले औषधि उत्पादनको सम्भावना र फर्मासिस्ट मनिष केसीले औषधि उत्पादनको प्राविधिक पाटोबारे जानकारी गराएका थिए।