डक्टर्स आर्टिकल

बाढी प्रभावित क्षेत्रमा 'लेप्टोइस्पाइरोसिस' महामारीको जोखिम

लेप्टोइस्पाइरोसिस संक्रमण के हो? लक्षण र उपचार

 डा शेरबहादुर पुन

संसारमा जहाँपनि बाढीपहिरो आएपछि लेप्टोइस्पाइरोसिस संक्रमणको चर्चा हुने गर्दछ। समाचार संस्था बीबीसीका अनुसार सन् २००५ मा भारतमा बाढी आउँदा छैसठ्ठी जनाको मृत्यु पानीजन्य संक्रमण लेप्टोइस्पाइरोसिसको कारणले भएको शंका गरिएको थियो । दक्षिण अमेरिकी देश गुयानामा पनि सन् २००५ को बाढीले गर्दा लेप्टोइस्पाइरोसिस संक्रमणको कारणले सयौं अस्पताल भर्ना भएको र ती संक्रमितहरु मध्य चौतिस जना यसै संक्रमणको कारणले मृत्यु भएको थियो। यी त केहि उदाहरणहरु मात्र हुन्। तर हाम्रो देशमा बर्षेनी बाढी आइरहन्छ तर लेप्टोइस्पाइरोसिस संक्रमण बारे भने खासै चासो लिएको देखिदैन। 

लेप्टोइस्पाइरोसिस संक्रमण के हो?
यो एक प्रकारको ब्याक्टेरिअल संक्रमण हो र खासगरी संक्रमित जनावरहरुको पिसाबबाट सर्ने गर्दछ। यो पानी तथा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ। तसर्थ मानिस संक्रमित पिसाब मिसिएको पानी वा माटोको सम्पर्कमा आएमा यो रोग सर्ने गर्दछ। शरीरमा घाउ भएको वा छाला काटिएर खुल्ला भए वा संक्रमित पानी पिएमा लेप्टोइस्पाइरोसिस रोग लाग्न सक्दछ। यी अवस्थाहरु बाढी पहिरो जाँदा धेरै हुने भएकोले नै यो संक्रमणको जोखिम पनि बढी हुने गरेको हो। मानिसबाट प्रत्यक्ष रुपमा मानिसमा सर्नु भने अति दुर्लभ मानिन्छ। 

लक्षणहरु
यसका लक्षणहरु सुरुआतीमा टाइफाइडसँग केही मिल्दोजुल्दो देखिन्छन्। काम ज्वरो आउनु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, आँखा रातो हुनु, पेट दुख्नु, पखाला लाग्नु र शरीरमा बिबिरा देखिनु यसका केही महत्पूर्ण लक्षणहरु हुन् । यी लक्षणहरु संक्रमण भएको दुर्इदेखि एक महिनासम्ममा देखिने गर्दछ।  यसको अर्थ बाढीको प्रबाह कम भएर पूर्व अवस्थामा फर्कंदै गर्दा पनि यो रोगको संक्रमण फैलन सक्ने जोखिम भने  रहीरहने भएकोले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । रोगको अवधि बढ्दै जाँदा र उपचार नगरे आँखा पहेंलो हुने (कलेजोमा समस्या आउने), मिर्गौलामा तथा स्नायु प्रणालीमा पनि असर पार्ने  गर्दछ। दस प्रतिशत संक्रमितमा यसको लक्षणहरु कडा हुने गर्दछ भने यसको मृत्युदर पाँच देखि पन्ध्र प्रतिशतसम्म भएको पाइन्छ। नेपालमा यसको मृत्युदर कति छ भनेर बिस्तृत अनुसन्धान भएको भने पाहिदैन।      

परीक्षण
लक्षणहरु लेप्टोइस्पाइरोसिससँग मिलेको भएपनि यसको किटान गर्न  प्रयोगशाला निदान गर्न जरुरी हुन्छ। बाढी प्रभावित क्षेत्रमै पनि द्रुत परिक्षण गर्ने किटको प्रयोग गरी रोग यकिन पहिचान गर्न सकिन्छ। लेप्टोइस्पाइरोसिससँग अरु संक्रमणहरु पनि बाढीको समयमा फैलन सक्ने भएको र यी संक्रमणहरुको लक्षणहरु पनि धेरै हदसम्म एक अर्कासँग मिल्दो–जुल्दो हुने भएकोले प्रयोगशाला निदान अति आवश्यक हुन्छ। 

उपचार 
यसको उपचार डोक्सिसाइक्लिन नामक एन्टीबायोटिकबाट गर्न सकिन्छ भने गर्भवती महिला वा बालबालिकाहरुमा एमोकसिलिन नामक एन्टी बायोटिक दिन सकिन्छ। संक्रमणको जोखिमबाट बच्न  हप्तामा दुर्इ मिलिग्राम डोक्सीसाइक्लिन एन्टीबायोटिक दिँदा लेप्टोइस्पाइरोसिसको आक्रमण दर र मृत्युदरमा समेत कमी आएको बिभिन्न अनुसन्धानहरु देखाएका छन् । यो समूहगत रुपमा दिन सकिन्छ।

नेपालमा लेप्टोइस्पाइरोसिसको यकिन तथ्यांक त छैन तर हरेक बर्ष बाढी तथा पहिरो जाने भएकोले यसप्रति विशेष चासो भने दिनुपर्ने  देखिन्छ। नेपाली समाजमा खासगरी पहाड तथा तराईमा गाईबस्तु, भेडाबाख्रा, कुकुर आदिसँगै हुने, र  मुसाको पनि बिगीबिगी हुने हुँदा यी जनावरहरुको पिसाब मानिसको सम्पर्कमा र खासगरी बाढीको समयमा सहजै आउने हुनाले लेप्टोइस्पाइरोसिसले महामारीको रुप नलेला भन्न सकिँदैन। गतवर्ष देखिएन भन्दैमा यो वा आगामी वर्षहरुमा नदेखिएला भन्न पनि सकिदैन । विश्वमा जहाँ बाढी आउँदा पनि  लेप्टोइस्पाइरोसिसको महामारी फैलन सक्ने भनेर बिशेष सावधानी अपनाउने गरेको पाइन्छ  त्यसैले बाढी प्रभावित क्षेत्रमा लेप्टोइस्पाइरोसिस संक्रमण बारेमा बिशेष सतर्कता अपनाउन सके यसबाट हुनसक्ने महामारीबाट बच्न सकिनेछ। 

-(डा.  पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने