डक्टर्स आर्टिकल

आन्द्रालाई छोप्ने झिल्लीमा कसरी क्यान्सर हुन्छ? उपचार के?

 डा सिमित सापकोटा र डा सुवास पण्डित

हाम्रो पेटको भित्री भागमा आन्द्रालाई बेर्ने ‘पेरिटोनियम’ नामको पातलो झिल्ली हुन्छ। यसको मुख्य काम आन्द्रालाई छोप्नु हो। विभिन्न कारणले यो अंगमा क्यान्सर फैलन सक्छ। यसमा एपेन्डिक्स, डिम्बासय तथा ठूलो आन्द्राको क्यान्सर फैलन सक्छ। यस्तो क्यान्सरलाई पेरिटोनियम क्यान्सर भनिन्छ। कहिलेकाँही पेरिटोनियम झिल्लीमा नै क्यान्सरको सुरुवात हुनसक्छ। जसलाई प्राइमरी पेरिटोनियल क्यान्सर भनिन्छ। क्यान्सर फैलिएपछि पेरिटोनियमभर साना–साना दाना आउछन्, जसले गर्दा बिरामीले सास्ती बेहोर्नुपर्छ।  केमोथेरापी विधिद्वारा यसको उपचार गर्न सकिन्छ। जसमा एउटा इन्जेक्सनको माध्यमबाट दिने किमोथेरापी हुन्छ भने अर्को सिधै पेरिटोनियममा दिने हुन्छ जसलाई इन्ट्रापेरिटोनियल केमोथेरापी भनिन्छ।  

कसरी फैलन्छ क्यान्सर पेरिटेनियममा ? 
पेरिटोनियममा खाली ठाउँ हुने भएकाले एक ठाउँबाट अर्को ठाउँमा क्यान्सर फैलन सजिलो हुन्छ। मुख्यतयः क्यान्सर फैलने तीन–चारवटा माध्यम हुन्छन्। एउटा सँगसँगै भएको एक ठाउँबाट अर्को ठाउँ सर्ने, अर्को रगतको माध्यमबाट फैलने, तेस्रो लिम्फबाट फैलिने हुन्छ भने चौथो एउटा खाली ठाउँबाट अर्को ठाउँमा जाने हुन्छ जसलाई ट्रान्सीलोमिन स्प्रेड भनिन्छ। पेरिटोनियममा ट्रान्सीलोमिक माध्यमबाट पिन क्यान्सर फैलिन्छ। फैलने क्रम क्यान्सरअनुसार फरक पर्छ। 

उपचार विधि   
केमोथेरापी नसाको माध्यमबाट वा इन्ट्रापेरिटोनियल माध्यमबाट दिन सकिन्छ। इन्ट्रापेरिटोनियल केमोथेरापी एउटा शल्यक्रिया गर्दागर्दै र अर्को शल्यक्रियापछि दिन सकिन्छ। शल्यक्रिया गरेकै बेला किमो दिँदा औषधि सबैतिर फैलिन्छ र क्यान्सर छिटो निको हुन मद्दत गर्छ। यसका साथै डाक्टरलाई किमो कतातिर गएको छ भनेर हेर्न पनि सजिलो हुन्छ। किमो एकैठाउँमा टाँसिएर बसेको छ भने फैलाउने अवसर पनि हुन्छ। तर कुनैबेला शल्यक्रिया गर्दागर्दै किमो दिनु खतरापूर्ण पनि हुन्छ। यस्तो बेला साइडइफेक्ट हुन सक्नेतर्फ सचेतता अपनाउनुपर्छ। शल्यक्रिया गरेको एक सातापछि डेनको माध्यमबाट किमो दिइन्छ। तर यसोगर्दा किमो एकै ठाउँमा गएर बस्यो भने आन्द्रामा घाउ हुने डर हुन्छ। 

शल्य चिकित्सकले पेटको ट्युमर काटेर निकालिसकेपछि बिरामी बेहोस नै भएको अवस्थामा पेटभित्र किमो राखेर पेटभरि चलाएर फैलाइन्छ। 

इन्ट्रापेरिटोनियम किमाथेरापीका फाइदा 
इन्जेक्सनबाटभन्दा पेरिटोनियममा किमो दिँदा चाहिनेजति डोज पुग्छ। त्यसैले क्यान्सर  निको हुने सम्भावना बढेर जान्छ। 

क्यान्सरको शल्यक्रिया जहिले पनि ठूलै हुन्छ। बिरामीलाई बेहोस गराएर नै गरिन्छ। ठूलो अपरेशन गरेका बेला किमो दिँदा व्यवस्थापन गर्न गाह्रो हुन्छ।  ट्युमर निकालिसकेपछि किमो दिँदा  किमोको असरले रगतको  कमी हुनसक्छ। दिएको किमाथेरापीका कारण मिर्गौला फेल हुने, वाकवाक लाग्ने, बान्ता हुने तथा रगत कम हुने हुन सक्छ। त्यसका लागि किमो दिने डाक्टरहरुले पूर्वतयारी गर्नुपर्छ। प्रायः शल्यक्रिया गरेको एक डेढ महिनापछि किमो दिने गरिन्छ। तर यो किमो शल्यक्रियाकै बेला दिइन्छ। इन्ट्रापेरिटोनियम किमाथेरापी सबै क्यान्सरलाई दिइँदैंन। 
यो किमोमा धेरै खर्च भने लाग्दैन ।  

कतिबेला दिने ? 
एपेन्डिक्स र डिम्बासयबाट एक खालको सतही रुपमा फैलिने ट्युमर हुन्छ जसलाई डिफ्युज पेरिटोनियल एडिनोमाइसिस भनिन्छ। यो ट्युमरमा  सुईको माध्यमबाट किमो दिँदा त्यसले काम गर्दैन। यसको उपचार भनेको इन्ट्रापेरिटोनियल केमोथेरापी नै हो। अरु फैलिएको क्यान्सरमा भने इन्ट्रापेरिटोनियल केमोथेरापीको सँगसँगै नसाबाट पनि किमोथेरापी दिनु पर्छ। पेरिटोनियममा क्यान्सर फैलिएका बिरामीका लागि इन्ट्रापेरिटोनियम केमोथेरापीको भूमिका ठूलो छ।  
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने