काठमाडौं– १२ दिनदेखि अनसनरत डा गोविन्द केसीले सरकारले वार्ताको पहल नगरेको बताएका छन् । वार्ताको पहल गर्दा आउन नचाहेको सरकारी अधिकारीले हल्ला चलाएको भन्दै प्रेस विज्ञप्ति मार्फत् स्पष्ट पारेका हुन्।
उनले सरकारले संवेददनहीन र गैर जिम्मेवार भएको बताउँदै भनेका छन्, 'माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ।'
डा केसीले आफू कुनै पनि बेला वार्ताका लागि तयार रहेको जनाउँदै सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी समेत गराएका छन्।
चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु डा केसी अनसनरत छन्।
उनले सरकारलाई दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण समेत गराएका छन्।