काठमाडौं– नेपाल चिकित्सक संघको अाह्वानमा आवद्ध देशभरका डाक्टर र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। १२ दिनदेखि अनसनमा डा गोविन्द केसीको समर्थनमा बुधवार १० बजेदेखि ११ बजेसम्म काम छाडेर धर्नामा बसेका हुन्। डा केसीका माग पूरा गर्न दबाब दिन संघले मंगलवार सार्वजनिक गरेको विरोध कार्यक्रम अनुसार बुधवार धर्ना दिइएको हो।
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बुधवार विभिन्न दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए। डा केसीका पक्षमा समर्थन जुटाउन र माग पूरा गर्ने सहमतिका लागि दबाब दिन चिकित्सक संघ सक्रिय छ । बुधवार दुर्इ बजे नेता बाबुराम भट्टराइलाइ कार्यक्रम रहेको उनले बताए ।
संघले डा केसीका माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी यसअघि नै दिइसकेको छ।
संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दबाव दिन विगत ३ दिनयता हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ।
यस्ता छन् चिकित्सक संघका तीनबुँदे कार्यक्रम:
१) देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट १ घन्टा कालोपट्टी बाँधी धर्ना, र्या ली लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
२) नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय र संघका देशभरका शाखा कार्यालयहरुले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग समन्वय गरी संघले संचालन गरेका कार्यक्रमहरुका बारेमा छलफल गरी सहयोग पुर्यालउन अपिल गर्ने ।
३) यी विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा समेत सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने सम्मका कार्यक्रमहरु सञ्चालन गर्न संघ बाध्य हुनेछ । साथै, यसबाट उत्पन्न हुने परिणतीप्रति नेपाल सरकार नै जिम्मेबार हुनेछ ।