रुपन्देही- लुम्बिनी अञ्चल अस्पतालका सटरको टेन्डर प्रक्रिया स्थगित भएको छ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका निजी सचिवले प्रदेश सरकारको सहमति अनुसार टेन्डर प्रक्रिया अघि बढाउनू भन्ने परिपत्र गरेपछि टेन्डर रोकिएको हो।
अस्पतालमा रहेका ६९ वटा सटरको भाडाको चारवर्षे म्याद सकिएपछि टेन्डर प्रक्रिया सुरु भएको थियो। जेठमा प्रकाशित सूचना अनुसार सटरको सम्झौता सकिने मिति असार २६ गते थियो।
मन्त्रालयको पत्रपछि अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले टेन्डर स्थगित गरेको सूचना जारी गरेका छन्। मेसुले सूचना निकालेकोप्रति अस्पतालका अध्यक्ष रमेश खनालले भने आपत्ति प्रकट गरेका छन्।
अध्यक्षले टेन्डर प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अन्तिम समयमा रोक्न खेल खेलिएको आरोप लगाए। उनले अस्पताल विकास समितिलाई बाइपास गरिएको भन्दै आपत्ति जनाए।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले भने प्रदेशमा अहिलेसम्म लुम्बिनी अञ्चल अस्पतालबारे केही जानकारी नआएको बताएका छन्।
अञ्चल अस्पतालले सटरका साथै जग्गा भाडाबाट वार्षिक रुपमा करिब साढे सात करोड आम्दानी गर्दै आएको छ।
सटरका लागि टेन्डर आह्वान गरिए अनुसार अस्पतालबाट मंगलबारसम्म २ सय ७० वटा फारम बिक्री भएको र ४५ वटा दर्ता भइसकेको अस्पताल प्रशासनले जनाएको छ।