मुख्य समाचार

ट्रमा सेन्टरका डाक्टरलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगियो, गलत मेडिकल रिपोर्ट बनाउन दबाब

यो कुरा सक्किसक्योः गृहमन्त्रीका सल्लाहकार


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगेर धम्की दिइएको छ।

अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो। डा अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको छ। 

'मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ' भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिएका हुन्।

डा अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा ‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो। 

डा अधिकारीले गृहमन्त्रालयमा आफूलाई कैदीलाई झैँ केरकार गरिएको बताए। ‘उहाँहरुले मलाई निकै तनाव दिनुभयो। प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्नुभयो,’ डा अधिकारीले भने, ‘यसले मलाई निकै चित्त दुखेको छ। गृहमन्त्रीको सल्लाहकारले मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै निर्देशनात्मक आदेश दिए।’

डा अधिकारीले आफूले आजसम्म चिकित्सकीय मर्यादा विपरीत काम नगरेका कारण यो कुरामा पनि जे सत्य हो त्यही लेख्छु भनेर जानकारी दिएको बताए। 

डा अधिकारीलाई मन्त्रालयमा बोलाइएको विषय सल्लाहकार सुवेदीले समेत स्वीकार गरे। उनले सुरुमा यो कुरा सक्किसकेको भन्दै कुराकानी गर्न मानेका थिएनन्। तर, ‘तपाईंहरुले गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिनुभएछ नि’ भन्ने प्रश्नपछि उनले कुराकानी गरेका थिए। 

‘सामान्य छलफलका लागि बोलाइएको हो, उहाँसँग राम्रै कुरा भएको छ। गलत भएको छैन,’ उनले भने, ‘घाइतेहरुको विषयमा कुराकानी भएको हो। गलत रिपोर्ट किन बनाउने हो र सही रिपोर्ट नै बनाउने हो नि। यो कुरा सिद्धिहाल्यो नि अब। केही छैन, अब यो विषयमा उतै कुरा गर्नुहोस्।’

बिरामी जाँचिरहेको अवस्थामा ‘अपहरण शैली’मा मन्त्रालय लगेर अनावश्यक दबाब दिएपछि डा अधिकारीले ट्रमा सेन्टरमा मानसिक तनाव दिइएको भन्दै निवेदन दिएका छन्। डा अधिकारीको निवेदनपछि अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने र अपाङ्गता सिफारिस नगर्ने निर्णय गरेको छ। 

यस्तो छ घटनाक्रम

मंगलबार मध्याह्न साढे १२ बजेतिर ओपिडीमा बिरामी जाँचिरहेका डा अधिकारीको कोठामा ८-१० जनाको हुल छिरेको थियो। उनीहरुले ओपिडीको चुकुल लगाउँदै डा अधिकारीलाई 'द्वन्द्वकालका घाइतेहरुको अपाङ्गताको रिपोर्ट बनाइदिनुहोस्' भन्दै दबाब दिए। उनीहरुले डा अधिकारीलाई 'हामीले जे भन्छौँ त्यही रिपोर्ट बनाउनुहोस्' भनेका थिए। डा अधिकारीले जे भन्यो त्यही होइन, जे सत्य छ त्यही बनाउँछु भन्ने जवाफ दिएको बताए। 

खाजा खाने समय भएका कारण अरु डाक्टर निस्किसकेका थिए। डा अधिकारी पनि त्यसपछि खाजा खान भन्दै निस्किए। करिब २ बजेतिर डा अधिकारीलाई गृहमन्त्रालयबाट फोन आयो। गृहमन्त्रीले भेट्न खोज्दै हुनुहुन्छ भनेर फोनमा भनेपछि डा अधिकारी हुन्छ भने।

त्यसको केही समयपछि डा अधिकारीलाई लिन गृह मन्त्रालयबाट नै गाडी आयो। डा अधिकारीले गृहमन्त्रालयमा बोलाइएको जानकारी अस्पतालका निर्देशक र विभागीय प्रमुखलाई गराए। त्यसपछि उनलाई गृहमन्त्रालय पुर्याभइयो। करिब १ घन्टा कुराइएपछि उनलाई गृहमन्त्रीका सल्लाहाकार सुवेदीले 'हाम्रा साथीहरुले भनेझैँ रिपोर्ट बनाउनुपर्योए, हाम्रा महान् योद्धाहरुले भने अनुसार नै गर्नुहोस्' भन्दै दबाब दिए। 

डा अधिकारीले आफूले ३४ वर्षसम्म गरेको काम बुझ्नुहोस्, म जे सत्य हो त्यही काम गर्छु भन्ने जवाफ दिए। डा अधिकारीलाई गृहमन्त्रीसँग पनि भेट गराइएन। त्यसपछि उनलाई छाडियो।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

किरण खनाल लेख्नुहुन्छ असार २८, २०७५ बिहिवार ०६:३०:२३
यदि यसाे हाे भगलत हाे ।सत्यतथ्य गृहले सार्वजनिक गर्नुपर्छ ।

यसमा तपाइको मत



पढ्नै पर्ने