काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत डाक्टर भोजराज अधिकारीलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगेर धम्की दिइएको घटनाप्रति संसदमा कुरा उठेको छ। कांग्रेस नेता अमरेशकुमार यो जनयुद्धकाल नभएको स्मरण गराएका छन्।
सिंहले किम जोङको शैली बन्द गर्न पनि सरकारसँग आग्रह गरे।
संसदको शून्य समयमा बोल्दै सिंहले भने–
'अस्ति मंगलबारको घटना हो। ट्रमा सेन्टरको डाक्टर भोजराज अधिकारीलाई गृहमन्त्रीको आदेशमा गृहमन्त्रालयमा अपहरणको शैलीमा उठाएर लगिएको छ। यसले के देखाएको छ भने सायद हाम्रो गृहमन्त्री बुझ्न सकिरहनुभएको छैन कि यो जनयुद्धकाल होइन। विभिन्न बुद्धिजीवी, विभिन्न पेशाका समूहलाई अपहरणको शैलीमा अपहरण गर्ने, आतंकित पार्ने? सरकारको जवाफ चाहियो। भिसीको कुरा नसेलाउँदै डाक्टरलाई आतंकित पार्ने, उता गोविन्द केसीको समयमा उपचार नगराउने? यो सरकार वास्तवमा बोल्नेलाई, बुद्धिजीवीलाई आतंकित पार्न चाहन्छ। किम जोङको शैली बन्द हुनुपर्यो।