काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झुटो विवरण पेश गरी अध्ययनमा रहेका कर्मचारीमाथि छानविन सुरु गरेको छ।
मन्त्रालयले छानविनका क्रममा एक जनालाई दोषी फेला परेर कारबाही समेत गरेको छ। मन्त्रालयले झुटा विवरण पेश गरि अध्ययन गरिरहेको फेला पारेपछि एक कर्मचारीको अध्ययन मनोनयन रद्ध गर्दै उक्त अवधिको तलब भत्ता समेत असुल उपचार गर्ने कारबाही अगाडि बढाएको छ।
मन्त्रालयले छानविनका क्रममा अरु कर्मचारी पनि भेटिएका कारण सबैको कारबाहीमा परेका कर्मचारीको नाम हाललाई गोप्य राखेको छ।
मन्त्रालयमा झुटो विवरण पेश गरेर अध्ययन गरिरहेका धेरै जनाको विषयमा गुनासो आएपछि छानविन अगाडि बढाइएको सहसचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए। उनले दोषी देखिएका कर्मचारीको अध्ययन स्विकृती रद्ध गर्ने, तलब भत्ता असुल उपर गर्ने, झुटो विवरण पेश गरेकोमा विभागिय कारबाही गर्दै अन्य निकायमा पनि आवश्यकता अनुसार कारबाहीका लागि पठाउने र सेवा अवधि समेत गणना नगर्नेसम्मको कारबाही हुने जानकारी दिए।
बुर्लाकोटीले यस्ता कर्मचारीको विषयमा जानकारी भएमा मन्त्रालयमा उजुरी गर्न समेत आग्रह गरेका छन्।